एमसीसीबारे निर्णय गर्न सत्ता गठबन्धनको बैठक बस्दै, बन्ला त सहमति ?

307

काठमाडौँ । सत्तारुढ गठबन्धनका शीर्ष नेताहरुको बैठक आज पनि बस्दै छ । गठबन्धनको बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बिहान १० बजे बस्दै छ ।

संसद बैठक बस्नुअघि नै एमसीसीबारे गठबन्धनका दलहरुबीच सहमति जुटाउने प्रयासस्वरुप बैठक बस्न लागेको हो । यसअघि पटक–पटक बैठक बसे पनि एमसीसीका विषयमा साझा धारणा बन्न सकेको छैन ।

एमसीसी सम्झौताका बारेमा गठबन्धनमा रहेका दलहरुबी एकमत हुन नसकेपछि पटक–पटक बसेको बैठक निष्कर्षविहीन भए पनि आज हुने बैठक निर्णायक हुने नेताहरुले बताएका छन् ।

यसअघि बुधबार र शुक्रबार एमसीसीलाई नै केन्द्रमा राखेर बसेको गठबन्धनको बैठक निष्कर्षमा पुग्न सकेको थिएन । गत शुक्रबारको बैठकपछि सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले आइतबारको बैठक निर्णायक हुने बताएका थिए ।

सरकारको नेतृत्व गरिरहेको कांग्रेस जसरी पनि पास गराउनुपर्ने पक्षमा रहेको छ । यथास्थितिमा एमसीसी अनुमोदन गर्ने भए नेकपा (माओवादी केन्द्र) सरकारबाट बाहिरिन तयार रहेको निर्णय गरेको छ ।

सत्ता साझेदार दल नेकपा (एकीकृत समाजवादी)को शनिबार बसेको स्थायी कमिटीको बैठकले एमसीसी टेबल गर्न अवरोध नगर्ने तर यथास्थितिमा एमसीसी अनुमोदन गर्न भने नसक्ने निष्कर्ष निकालेको छ ।

जनता समाजवादी पार्टी (जसपा)ले भने ठोस निर्णय लिन सकेको छैन । अध्यक्ष उपेन्द्र यादव माओवादीलगायत दलहरुको निर्णय कुरिरहेका छन् भने संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराई पास गर्नुपर्ने पक्षमा छन् ।

आजै प्रतिनिधिसभाको बैठक बस्दै छ । आजको बैठकमा एमसीसी टेबल गराउनुपर्ने कांग्रेसको धारणा छ । आजको सम्भावित कार्यसूचिमा एमसीसीको विषय राखिएको छैन । संसद बैठकअघि बस्ने कार्यव्यस्था परामर्श समितिको बैठकले संसद बैठकको अन्तिम कार्यसूति तय गर्ने छ ।

Share This:
सम्बन्धित खबर
Loading...