सत्ता गठबन्धनको बैठक बिना निष्कर्ष टुंगियो, आइतबार फेरि बस्ने

314

काठमाडाैँ । अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी)मा सहमति जुटाउने प्रयासस्वरुप सत्तागठबन्धनको ‘निर्णायक’ बैठक बिना निष्कर्ष सकिएको छ ।

बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा शुक्रबार बिहान बसेको बैठकमा एमसीसीबारे सहमति जुट्न सकेन ।

गठबन्धन आवद्ध दलमा एमसीसीबारे सहमति नजुटेपछि फेरि आइतबार बस्ने गरी बैठक सकिएको एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपालले जानकारी दिए ।

गठबन्धनको बैठकमा कुनै सहमति नजुटेपछि शुक्रबार बस्ने प्रतिनिधिसभामा एमसीसी टेबुल नहुने भएको छ । बालुवाटारमा गठबन्धनको बैठकमा भाग लिन जानुअघि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवबीच अलग्गै बैठक भएको थियो ।

गठबन्धनको बैठकमा प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष नेपाल, जसपा अध्यक्ष यादव उपस्थित थिए ।

एमसीसी अनुमोदन गर्ने कि नगर्ने भन्ने विषयलाई लिएर केही दिनदेखि गठबन्धनको बैठक बस्दै आएको छ । तर, कुनै सहमति जुट्न सकेको छैन ।

Share This:
सम्बन्धित खबर
Loading...