काठमाडौँ । सभामुख अग्निप्रसाद सापकोटाले एमसीसीलगायतका विषयमा सदनमा स्वतन्त्र, निष्पक्ष ढंगले निर्णय गर्ने बताएका छन् ।
सिहदरबारमा सोमबार बसेको सर्वदलीय बैठकमा सभामुख सापकोटाले अहिलेको अवस्थामा आफू सभामुखको हैसियतमा रहेकाले स्वतन्त्र, निष्पक्ष ढंगले निर्णय गर्ने बताएका हुन् ।
बैठकमा एसीसीसहित पछिल्ला विकसित राजनीतिक घटनामा नेताहरूले आफ्नो धारणा राखेका थिए । बैठकपछि सभामुख सापकोटाले सबै दलले आ–आफ्नो धारणा राखेको र आफूले गम्भीरतापूर्वक सुनेको बताए । उनले एमसीसीका विषयमा दलहरुकै भूमिका निर्णायक हुने भन्दै आफू रेफ्रीको भूमिकामा मात्र रहेको टिप्पणी गरे ।
आफूले संसद सञ्चालन हुनुपर्छ भन्ने विषयमा विशेष जोड दिएको र यसमा सरकार गठबन्धन सबैले पहल गर्नुपर्ने उनले बताए । सदनलाई सुचारु गर्ने कुरा र छलफलको वातावरण बनाउने कुरा नै अहिलेको राष्ट्रको सबैभन्दा महत्वपूर्ण कुरा भन्ने कुरामा सबैको एकमत रहेको उनको भनाइ छ ।