काठमाडौँ । नेकपा (माले)का महासचिव सिपी मैनालीले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) अनुमोदन नगर्न आग्रह गरेका छन् ।
रिपोर्टर्स क्लब नेपालले शुक्रबार आयोजना गरेको कार्यक्रममा बोल्दै उनले एमसीसी सदनबाट पारित गनु नपर्ने भन्दै गरेमा देशको कानुनभन्दा माथि हुन जाने तर्क गरे ।
यस्तो खालका अनुदानलाई सदनबाट पारित गर्न नै नपर्ने उनको भनाइ थियो । सदनबाट पारित गरेपछि कानुनको मान्यता दिनपर्ने उनले बताए । नेपालको संविधान, मुल कानुनहरु संसद्का प्रस्तावहरुभन्दा पनि यो सम्झौतामाथि हुने तर्क गर्दै मैनालीले भने,“नेपालको कानुनभन्दा माथि एमसीसी हुन्छ ।”
अनुदान पाउने कुरा राम्रो भए पनि अमेरिकाको ठुलो स्वार्थ रहेको उनको भनाइ थियो । सडक र विद्युत्को आयोजना सकिएपछि संरचना कसलाई जिम्मा दिने कुरा सम्झौतामा उल्लेख नगरिएको उनले बताए । अमेरिकाले बनाएका संरचनाहरु अमेरिकाको हित बाहिर प्रयोग गर्न नपाइने पनि उल्लेख भएको उनले बताए ।
“एमसीसीले कुनै पनि योजना र कसैसँग अर्को सम्झौता गरेमा नेपालले पनि त्यसलाई मान्न पर्छ । हात्तीका देखाउने दाँत जस्तै अमेरिकाले नाटक गरिरहेको छ,” उनले भने । अमेरिकाले शत्रु देश चीनलाई अप्ठ्यारो पार्ने खोजेको उनले आरोप लगाए ।