भारतले एकतर्फी संरचना निर्माण गर्दा सरकार मूकदर्शक बन्यो : ओली

90

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले भारतले नेपालको लिपुलेक, कालापानी र लिम्पियाधुरामा एकतर्फ संरचना निर्माण गर्दा पनि सरकारले आपत्ति नजनाएर निरीहता देखाएको बताएका छन् ।

ओलीले आज एक वक्तव्य निकालेर यस्तो बताएका हुन् । उनले भारतले नेपालको लिपुलेक, कालापानी र लिम्पियाधुरामा एकतर्फी संरचना निर्माण गर्दा पनि सरकारले आपत्ति नजनाएर निरीहता देखाएको आरोपसमेत लगाए । वर्तमान सरकारका कारण देशको बाह्य सम्बन्धमा गम्भीर असन्तुलन र विचलनहरु देखा परेको अध्यक्ष ओलीको दाबी छ ।

उनले भनेका छन्, “अहिले मुलुकको बाह्य सम्बन्धमा गम्भीर असन्तुलन र विचलनहरु देखा परेका छन् । राष्ट्रिय हितलाई केन्द्रबिन्दुमा राखेर स्वतन्त्र र सन्तुलित विदेश नीति अवलम्बन गर्नुपर्नेमा विदेशीहरुका लागि ‘कम्फर्टेबल’ बन्ने वचनवद्धतासहित गठन भएको सरकार नेपालको राष्ट्रिय हितमाथि निरन्तर आँच पुगिरहँदा पनि मूकदर्शक बनेको छ ।”

यस्तै, भारतसँग ऐतिहासिक सन्धि दस्तावेज र प्रमाणका आधारमा सीमा विषय टुंगो लगाउन सार्थक पहल नगरेको ओलीले बताएका छन् । ओलीले भारतीय सुरक्षाकर्मीद्वारा तुइन चुँडाइएर महाकालीमा बेपत्ता पारिएका जयसिंह धामी प्रकरणमा पनि सरकार लाचार बनेको उल्लेख गरेका छन् ।

उनले चीनसँगको सीमा विवाद सम्बन्धमा गठन भएको समितिले बनाएको प्रतिवेदन पनि सार्वजनिक गर्न माग गरेका छन् । “विगतमै टुंगिसकेको चीनसँगको सीमाको प्रश्नमा एकतर्फी रुपमा छानबिन समिति बनाएको सरकारले समितिको प्रतिवेदनलाई गुपचुप राखेर छिमेकी राष्ट्रसँगको सम्बन्धमा आशंका र अविश्वास पैदा गर्ने काम गरिरहेको छ,” उनले भने ।

Share This:
सम्बन्धित खबर
Loading...