काठमााडौँ । सत्ता साझेदार दल नेकपा (माओवादी केन्द्र)को शनिबार बसेको बैठक सम्पन्न भएको छ ।
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’को अध्यक्षतामा पूर्वस्थायी समिति र आयोगका अध्यक्षहरु बसेको आजको बैठकमा आगामी स्थानीय तहको निर्वाचनका सम्बन्धमा छलफल भएको बताइएको छ ।
सकेसम्म कम खर्चमा सकेसम्म तीनवटा चुनाव एकैपटक गर्ने विषयमा पनि छलफल र परामर्श भएको माओवादी केन्द्रका प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिए । निर्वाचन आयोग, बुद्धिजीविहरु, पत्रकारहरू, त्यसपछि कानूनविदसँग सल्लाह लिएर मात्रै चुनावका बारेमा आवश्यक निर्णयमा पुगिने उनले बताए ।
सत्तारुढ गठबन्धनभित्र स्थानीय तहको निर्वाचनका बिषयमा सहमति हुन सकेको छैन । यसअघि शुक्रबार बसेको सत्ता गठबन्धन अन्तर्गतको संयन्त्रले तीनै तहको निर्वाचन एकैपटक गर्ने बिषयमा विज्ञहरुसँग छलफल गर्ने निर्णय गरेको थियो ।