काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्रीबाट निकालिएको पीडा खप्न नसकेपछि ‘भुक्दै हिँडेको’ आरोप लगाएका छन् । ओलीको चर्को आलोचना गर्दै नेता नेपालले कोही डाक्टर भए उपचार गरिदिन सुझाव समेत दिए ।
शनिबार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै उनले ओलीले आफूले गज्जब काम गरेको भनेर गुड्डी हाँक्दै हिँडेको आरोपसमेत लगाए ।
“अहिले तपाईंहरुलाई थाहा छ केपी ओलीका लागि राप्रपा प्यारो छ । महन्थ ठाकुर प्यारा छन्, केपी ओलीका लागि । विदेशीहरु प्यारा छन्, उनका लागि । तर, आफ्नै पार्टीका कार्यकर्ताहरु, जसले उनलाई ‘बा’ भन्दैनन् । जसले उनलाई पुज्दैनन् । जसले उनको भजन गाउँदैनन् उनीहरु प्यारा छैनन् । विचित्र छ, प्रधानमन्त्री बन्ने बेलामा, बालुवाटारमा जाने बेलामा बरु कार्यकर्ताहरुको जुलुस त्यहाँ पुग्ने गर्छ । तर, केपी बा’को तरिक के भएछ भने बालुवाटारबाट जुलुस भएछ, विजय जुलुस जस्तै । बालकोट पुग्यो । बालकोटको बार्दलीमा बसेर तथानाम गाली गरे । त्यो के हो भने प्रधानमन्त्रीबाट निकालेको पीडा । पीडा धेरै भइसकेपछि त्यो मुखबाट बाहिर निस्कन्छ । कहिले त्यो भोमिट गरेर निस्कन्छ, कहिले शब्दबाट निस्कन्छ । तपाईंहरुमध्ये कोही डाक्टर भए उपचार गरिदिनु भए हुन्छ । बिचाराको त्यो हालत ! बालुवाटारबाट बालकोट पुग्ने बित्तिकै भुक्नु परेछ । कारण के हो भन्दा उनमा दम्भ सवार हो त्यो । व्यक्तिवाद सवार भयो । मैमत्त प्रवृत्ति सवार भयो । म भन्दा जान्ने सुन्ने कोही छैन भन्ने प्रवृत्ति हुर्केर आयो,” उनले भने ।
अध्यक्ष नेपालले ओलीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’को टाउकोमा टेकेर आफूलाई अग्लो देखाउन नेकपा एकता गराएको टिप्पणी समेत गरे । ओलीले पार्टीभित्र सबैलाई अनादर गरेपछि आफूहरुले अलग पार्टी बनाएको उनको दाबी थियो ।
“त्यो उद्देश्य भनेको हाम्रो प्रचण्डको टाउकोमा चढेर म सबैभन्दा अग्लो छु भनेर देखाउने सोच रहेछ । उहाँको पिठ्यूँलाई सिँढीको रुपमा प्रयोग गरेर अनि आफूलाई अग्लो देखाउने प्रवृत्ति । अनि त्यही प्रवृत्तिले दम्भ सवार भयो । पछि पार्टीमा हेप्न थाल्नुभयो । बैठक नै नगर्ने,” उनले भने ।
नेपालले ओलीले राप्रपाका नेताहरुलाई प्यारो ठान्ने गरेको टिप्पणी पनि गरे । उनले पार्टीभित्र ‘केपी बा’ भन्नेहरुलाई मात्रै ओलीले संरक्षण दिने गरेको बताए । उनले पार्टी नेता, कार्यकर्तालाई ओली दम्भी भएको भन्दै त्यस्तो नबन्न पटकपटक सचेत गराए ।