बागलुङ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले विद्यालय समयमा अतिरिक्त क्रियाकलाप नगर्न शिक्षकहरुलाई आग्रह गरेका छन् । बागलुङ नगरपालिका–१४ मा रहेको गणेश माध्यमिक विद्यालयको ४१औँ वार्षिकोत्सवलाई सम्बोधन गर्दै शिक्षकहरुको काम पढाउने भएकाले विद्यालयसमयमा अन्य क्रियाकलापमा नलाग्न आग्रह गरेका हुन् ।
“शिक्षकको काम पढाउने हो, विद्यार्थीको काम पढ्ने हो,”उनले भने,“अभिवाकको सहयोग, शिक्षकको लगनशीलता र विद्याथीहरुको सक्रियता भयो भने सार्वजनिक शिक्षा सुधार हुन्छ ।”
उनले शिक्षामन्त्रालयको कार्यभार सम्हालेपछि विद्यालयमा शिक्षकहरुको अभावको कुरालाई मध्यनजर गर्दै शिक्षा नियमावलीको ११औँ सशोधन मन्त्रिपरिषद्बाट गराएर विज्ञापन खुलाउन सफल भएको बताए ।
विद्यार्थीलाई किताबी ज्ञानले मात्र नहुने भन्दै शिक्षकहरुलाई अहिलेको प्रविधिसँग अपडेट हुन आग्रह गरे ।
राष्ट्रिपति शैक्षिक सुधार कार्यक्रमलाई थप व्यवस्थित गर्दै तीन वर्षभित्र देशभर विद्यालयका भवन बनाउने लक्ष्य मन्त्रालयको भएको बताउँदै प्राविधिक शिक्षामा मन्त्रालयको जोड रहेको पनि उल्लेख गरे । “आज नेपालको सार्वजनिक शिक्षा राम्रो छैन भन्ने कुरा बाहिर आएको छ,” उनले भने, “सार्वजनिक शिक्षा सुधार गर्न मन्त्रालय प्रतिबद्ध छ ।”
५ वर्षदेखि रोकिराखेको आन्तरिक शिक्षक बढुवाको कामको थलानी भएको बताउँदै ३ हजार ३ सयभन्दा बढी शिक्षकहरुको बढुवा हुने बताए ।