काठमाडौँ । प्रदेश नम्बर २ को नाम ‘मधेस प्रदेश’ राख्न सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) पनि सहमत देखिएको छ । माओवादी केन्द्रका सांसद् जगत यादवले प्रदेशको नाम ‘मधेस प्रदेश’ राख्न प्रस्ताव गरेका हुन् ।
प्रदेशसभाको आठौँ अधिवेशनको पहिलो बैठकमा बोल्दै माओवदी प्रदेश २ का उपनेतासमेत रहेका उनले भने, “प्रदेशको नामाकरण पहिचानसहितको हुनुपर्छ । त्यसैले मधेस राखौँ ।” उनले सहिदहरुले प्राण त्याग्ने बेलामा पनि ‘मधेस जिन्दावाद, मधेस जिन्दावाद’ भनेको बिर्सन नहुने भन्दै प्रदेशको नाम मधेस राख्नुपर्ने बताए ।
सांसद् यादवले मधेस प्रदेश नाम राखेपछि मात्र आन्दोलनका सहिद, घाइते तथा अपांगहरुको सपना पूरा हुने बताए ।
उनले प्रदेशको राजधानी पनि बृहत् जनकपुरधाम हुनुपर्नेमा जोड दिए । उनले राजधानी र नामको टुंगो लगाएर संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था पनि बचाउनुपर्ने बताए ।