कर्णाली प्रदेशका तीन मन्त्री आज पदमुक्त हुँदै

334

काठमाडौँ । कर्णाली प्रदेशका तीन जना मन्त्री आज पदमुक्त हुने भएका छन् ।

मुख्यमन्त्री महेन्द्रबहादुर शाही नेतृत्वको सरकारमा भौतिक पूर्वाधार तथा सहरी विकासमन्त्री अम्मरबहादुर थापा, भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री कुर्मराज शाही र उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री नन्दसिंह बुढाको पदावधि आज सकिन लागेको हो ।

प्रदेशसभा सदस्य नरहेको व्यक्ति बढीमा ६ महिनासम्म मात्र मन्त्री बन्न पाउने संवैधानिक व्यवस्था रहेको छ । ‘फ्लोर क्रस’ गरेका माधव नेपाल पक्षका तीन जना सांसद्लाई नेकपा (एमाले)ले कारबाही गरी गत वैशाख ४ गते सांसदबाट हटाएको थियो । हाल उनीहरु नेकपा (एकीकृत समाजवादी) पार्टीमा रहेका छन् ।

मन्त्री थापा एकीकृत समाजवादीको प्रदेश अध्यक्षको जिम्मेवारीमा पनि छन् । उनीहरु मंगलबारदेखि स्वतः पदमुक्त भएपछि नयाँ मन्त्री पठाउनेबारे एकीकृत समाजवादीमा छलफल जारी रहेको मन्त्री बुढाले जानकारी दिए ।

उनले कसलाई मन्त्री बनाउने भन्ने विषयमा टुंगो लागि नसकेको बताए । कर्णाली प्रदेशमा नेकपा (एकीकृत समाजवादी)का ३ जना मात्रै सांसद् रहेका छन् ।

एकीकृत समाजवादीबाट चन्द्रबहादुर शाही, देवी ओली र पदमबहादुर रोकाय सांसद् रहेका छन् । उनीहरुलाई नै मन्त्री बनाउने तयारी भएको स्रोतले जानकारी दियो ।

कर्णाली प्रदेशमा नेपाली कांग्रेसले आफ्नो नेतृत्वमा सरकार गठन गर्नुपर्ने माग गर्दै आएको छ । कांग्रेसले माओवादी केन्द्र नेतृत्वको सरकार ढालेर नयाँ सरकार गठन गर्नुपर्ने माग राख्दै आएको हो । तर, माओवादीले कांग्रेसको उक्त प्रस्तावमाथि असन्तुष्टि जनाउँदै आएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...