देशकै ठूलो सबस्टेसनको निर्माण सम्पन्न : १२ सय मेगावाट विद्युत् आयातनिर्यात गर्न सकिने

251

काठमाडौं । देशकै हालसम्मकै सबैभन्दा ठूलो सबस्टेसनको रुपमा परिचित ढल्केबर सबस्टेसन नो लोडमा चार्ज भएको छ । कूल ४ सय केभी क्षमताको सो सबस्टेसन बुधबार साँझदेखि नो लोडमा चार्ज भएको हो ।

ढल्केबर सबस्टेसन आयोजनाका प्रमुख शुक्र देवकोटाका अनुसार देशकै सबैभन्दा ठूलो पावर हवको काम सम्पन्न भएको छ । उक्त सबस्टेसन नेपालको विद्युत् क्षेत्रका लागि एउटा महत्वपूर्ण कोशेढुङ्गाका रुपमा रहेको छ । नेपालको पहिलो ठूलो र ग्यास इन्सुलेटेड सबस्टेसन निर्माणमा नेपाल विद्युत् प्राधिकरणले सफलता हासिल गरेको छ ।

नेपाल सरकारको लगानी, प्राधिकरणका इन्जिनीयरको डिजाइन र प्राधिकरणकै स्वामित्वमा रहेको एनइए इन्जिनीयरिङ कम्पनीको परामर्शमा सो आयोजना सम्पन्न भएको छ । प्राधिकरणका पूर्वकार्यकारी निर्देशक कुलमान घिसिङले देशकै सबैभन्दा ठूलो सबस्टेसन सम्पन्न भएकामा बधाई दिँदै महत्वपूर्ण सफलता हासिल भएको बताए ।

प्राधिकरणका अनुसार सो सबस्टेसनको क्षमता ९ सय ४५ एमभीए रहेको छ । आर्थिक वर्ष २०७४/७५ मा बोलपत्र प्रक्रिया सुरु गरी करिब अढाइ वर्षमा सो आयोजना सम्पन्न भएको हो । प्राधिकरणले गत असारमा नै निर्माण सम्पन्न गर्ने लक्ष्य राखेको भए पनि कोरोनाको कहरका कारण आयोजना सम्पन्न हुन केही ढिलाइ भएको हो । कोरोनाको जोखिम नियन्त्रणका लागि सरकारले जारी गरेको लकडाउन तथा निषेधाज्ञाका कारण आयोजना सम्पन्न हुन ढिलाइ भएको प्राधिकरणले जनाएको छ । सो अवधिमा समेत आयोजनाको काम भइरहेका कारण सम्पन्न हुन सकेको हो ।

उच्च क्षमताको हाई भोल्टेज टेस्टिङ मेसिन केरुङ नाकाबाट करिब तीन महिनासम्म छुटाउन नसक्दा समयमा चार्ज हुन सकेको थिएन । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले परराष्ट्र मन्त्रालयसँग समन्वय गरी कूटनीतिक पहल गरेर केरुङमा रहेको उपकरण आयोजनास्थल पुर्‍याइएको थियो ।

नेपाल–भारतबीचको विद्युत् आदानप्रदानका लागि ढल्केबर–मुजफ्फरपुर ४ सय केभी क्षमताको अन्तरदेशीय प्रसारण लाइन यसअघि नै निर्माण सम्पन्न भएको थियो । सोही प्रसारण लाइनका कारण नेपाललाई आवश्यक पर्ने विद्युत् जुनसुकै बेला पनि सहजै रुपमा आयात गर्न सम्भव भएको छ । प्रसारण लाइन ४ सय केभी क्षमताको भए पनि सबस्टेसन कम क्षमताको भएकाले गर्दा सुरुवाती चरणमा १३२ केभी क्षमतामा मात्रै प्रसारण लाइन चार्ज गरिएको थियो । यस्तै आव २०७५/७६ मा मात्रै २ सय केभी क्षमतामा चार्ज गरिएको थियो ।

नयाँ सबस्टेसन निर्माण सम्पन्न भएपछि प्रसारण लाइनकै क्षमतामा सञ्चालनमा ल्याउन सकिने प्राधिकरणको भनाइ छ । सो प्रसारण लाइन तथा सबस्टेसनबाट कूल एक हजार २ सय मेगावाट विद्युत् आयातनिर्यात गर्न सकिने भएको छ । प्राधिकरणका पूर्वकार्यकारी निर्देशक घिसिङका अनुसार उक्त प्रसारण लाइन र सबस्टेसनको क्षमता एक हजार २ सय मेगावाट बराबरको भए पनि तत्कालका लागि ८ सय ५० मेगावाट मात्रै आयातनिर्यात हुन सक्छ ।

नेपालभित्रको पूर्वपश्चिम प्रसारण लाइन ४ सय केभीमा चार्ज भएपछि मात्रै सो लाइनबाट पनि एक हजार २ सय मेगावाट विद्युत् आदानप्रदान गर्न सकिन्छ । पूर्वकार्यकारी निर्देशक घिसिङले राष्ट्रिय महत्वको आयोजना निर्माणमा अहोरात्र खटिएका आयोजनाका कर्मचारी, निर्माण व्यवसायी तथा परामर्शदाता कम्पनीलाई समेत धन्यवाद दिँदै तुलनात्मक रुपले काम छिटो सकिएकामा सबै बधाईको पात्र भएको बताए ।

उनले भने, “मेरो कार्यकालमा चार्ज गर्ने भनी धेरै प्रयास गर्दा पनि हाइभोल्टेज टेस्टिङ किट नआएकाले सफल भएन ।” आयोजना सम्पन्न गर्न ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले निरन्तर पहल गरेका थिए। उनले हरेक दिन नै आयोजनाको प्रगतिका बारेमा चासो राखेर शीघ्र काम सम्पन्न गर्न सम्बद्ध पक्षको ध्यानाकर्षण गराउँदै आएका थिए ।

तत्कालका लागि नो लोडमा सबस्टेसन चार्ज गरिएको भए पनि अब भने विद्युत् लोड दिएर चार्ज गर्ने र सञ्चालनमा ल्याउने प्राधिकरणको तयारी छ । परामर्शदाता कम्पनीको रुपमा रहेको एनइए इन्जिनीयरिङ कम्पनीका प्रबन्ध सञ्चालक हितेन्द्रदेव शाक्यले केही दिन पहिले रासससँगको कुराकानीका क्रममा सो आयोजना आफूहरुका लागि समेत महत्वपूर्ण र सिकाइका दृष्टिले पनि बहुआयामिक भएको बताएका थिए । रासस

Share This:
सम्बन्धित खबर
Loading...