साइकल खरिदमा अनियमितता भएको छैन : मुख्यमन्त्री राउत

229

काठमाडौँ । मुख्यमन्त्री लालबाबु राउतले बुधबार प्रदेश सभालाई सम्बोधन गर्दै ‘बेटी पढाउ, बेटी बचाउ’ अभियानअन्तर्गत खरिद गरिएको साइकलमा अनियमितता नभएको दाबी गरेका छन् ।

प्रदेश सभाको सातौँ अधिवेशनको प्रथम बैठकमा विपक्षी दलले उठाएको प्रश्नको जबाफ दिँदै मुख्यमन्त्री राउतले सार्वजनिक खरिद ऐनअनुसार इ–विडिङ्गमार्फत साइकल खरिद गरेको बताउँदै त्यसमा कुनै प्रकारको अनियमितता नभएको दाबी गरे । साइकल खरिदमा अनियमितता भएको भनेर सञ्चार माध्यममा आएको समाचार भ्रामक रहेको उनको दाबी छ । राउतले प्रदेश सभामा दुई चरणमा साइकल खरिद भएको सांसद्हरुलाई जानकारी गराए पनि प्रदेश सरकारले विभिन्न ४ चरणमा साइकल खरिद गरिएको बताउँदै आएको छ ।

दुई चरणमा खरिद गरिएको साइकलमध्ये पहिलो चरणमा ओम सत्यसाइ प्रालि. पर्सा रु ५,७००, सान्यो इन्टरनेसनल जेभी काठमाडौँ रु ७,५७६, द डिजाइनर्स नेपाल जेभी भरतपुर रु ६,८३१ , म्याप इन्टरप्रिन्युर्स काठमाडौँ रु ६,१५० र विकास जेनरल ट्रेडिङ्ग रु ८,५०१ कबोल गरेकोमा न्यूनतम कबोल गर्ने ओम सत्यसाइ प्रालि. पर्साले टेन्डर पाएको मुख्यमन्त्री राउतले प्रदेश सभामा तथ्याङ्क सार्वजनिक गरेका छन् ।

त्यसैगरी, दोस्रो चरणमा गरिएको टेन्डरमा ओम सत्यसाइ प्रालि. पर्साले रु ७,५००, सान्यो इन्टरनेसनल जेभि काठमाडौँ रु ७,४७५ कबोल गरेको तथा म्याप हेलिक्स जेभिको कबोलमा प्राविधिक त्रुटि देखिएकोले न्यूनतम कबोल गर्ने सान्यो इन्टरनेसनल जेभी काठमाडौँसँग सम्झौता गरि साइकल खरिद गरिएको मुख्यमन्त्रीको प्रष्टीकरण छ । तर, दोस्रो चरणको टेन्डरमा बसभन्दा कम रकम कबोल गर्ने म्याप हेलिक्सको रकम नखुलाएको तथ्याङ्क मुख्यमन्त्री राउतले सभामा प्रस्तुत गरेका छन् । जबकी ती कम्पनीले ६ हजार ९७० मा साइकल उपलब्ध गराउने सञ्चारमाध्यमलाई जनाएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...