प्रदेश २ सरकारलाई बदनाम गर्ने प्रयास भएको छ : मुख्यमन्त्री राउत

236

काठमाडौँ । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले आफ्नो नेतृत्वको सरकारलाई बदनाम गर्न अनेक चलखेल भइरहेको बताएका छन् ।

बुधबार प्रदेशसभा बैठकमा उनले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले केही दिनअघि मुख्यमन्त्री कार्यालयमा छापा मार्नु सरकारलाई बदनाम गर्ने प्रयास भएको बताएका हुन् ।

आफू सुशासन र पारदर्शिताको पक्षपाती रहेको भन्दै मुख्यमन्त्री राउतले प्रदेश सरकारलाई बदनाम गर्न अनेक षड्यन्त्र भइरहेको बताए । “यो त संस्थामाथिको हमला हो,” उनले भने,“प्रदेश सरकारलाई बदनाम गर्न अनेक प्रकारका षड्यन्त्र भइरहेको छ ।”

मुख्यमन्त्री कार्यालयले बेटी बचाऊ बेटी पढाउ कार्यक्रम अन्तर्गत गत वर्ष प्रदेशभरका कक्षा ८ का छात्रालाई साइकल वितरण गरेको थियो । सो कार्यक्रम पारदर्शी नभएको भन्दै समाचार प्रकाशन भएपछि अख्तियारले गत हप्ता छापा मारेको थियो ।

उनले मुख्यमन्त्री कार्यालयबाट साइकल वितरणमा अनियमितता भएको भन्ने हल्लामा सत्यता नरहेको बताए । “त्यो बजेटको व्यवस्थापन कसले गरेको ? तपाईंहरु (सांसद्हरु)ले बजेट पास गरेको होइन र ? मुख्यमन्त्रीले बजेट कार्यान्वयन गर्ने होइन नि, मुख्यमन्त्रीले बजेट खर्च गर्ने होइन,” उनले भने ।

उनले प्रदेशसभा सदस्यहरु नै आफ्ना लागि न्यायाधीश हुने बताए । संघीयतालाई कमजोर बनाउने र समाप्त पार्ने सुरु देखिको खेल अन्तर्गत प्रदेश २ लाई नै बारम्बार निशाना बनाउँदै आएको उनको भनाइ थियो ।

Share This:
सम्बन्धित खबर
Loading...