काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वभरि फैलिएका अपराधका नयाँ प्रवृत्ति र शैलीप्रति चनाखो रहन नेपाल प्रहरीलाई सुझाव दिएका छन् ।
६६औँ प्रहरी दिवसका अवसरमा बुधबार काठमाडौंमा आयोजित कार्यक्रममा प्रधानमन्त्री देउवाले विज्ञान र प्रविधिको तीव्र विकास भइरहेको अवस्थामा सङ्गठित एवं विद्युतीय सञ्जालमा आधारित भएर विश्वभरि फैलिएका अपराधका नयाँ प्रवृत्ति र शैलीप्रति चनाखो रहन सुझाव दिएका हुन् ।
संयुक्त सरकारको साझा न्यूनतम कार्यक्रममा सुरक्षा निकायलाई सक्षम, निष्पक्ष, पारदर्शी र उत्तरदायी रुपमा सञ्चालन गर्दै सुरक्षा अङ्गको व्यावसायिकतामा जोड दिने उनले बताए । त्यस्तै, उनले प्रहरीको मनोबल उच्च बनाउने र साधनस्रोत उपलब्ध गराउने कुरामा सरकार संवेदनशील रहेको धारणा राखे ।
कार्यक्रममा गृहमन्त्री बालकृष्ण खाणले नयाँ चुनौती सामना गर्न प्रहरीलाई सरकारको पूर्ण साथ र सहयोग रहनेसमेत प्रतिबद्धता जनाए ।