एनआरएनएको अध्यक्षमा बद्री केसीको उम्मेदवारी घोषणा

315

काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) आगामी नेतृत्वका लागि डा.बद्री केसीले उम्मेदवारी घोषणा गरेका छन् ।

मंगलबार काठमाडौंमा समृद्धि र रुपान्तरण, हाम्रो साझा अभियान भन्ने नारासहित केसीले आगामी नेतृत्वका लागि उम्मेदवारीको घोषणा गरेका हुन् । उम्मेदवारी घोषणा गर्दै केसीले वैदेशिक रोजगारीका लागि मानवअधिकार र सुरक्षाको प्रत्याभूत भएका देशहरूसँग साझेदार गर्ने बताए ।

त्यस्तै, उनले गैरआवासीयलाई नागरिकता दिलाउने, गैरआवसीय नेपालीको लगानी नेपाल भित्र्याउनेलगायतका प्रतिवद्धता जनाए । आफू अध्यक्षमा निर्वाचित भए श्रमिकको पैसाले श्रमिककै लागि श्रम बैंक खोल्ने, एनआरएनए फाउन्डेसनको संरचना नेपालका सातै प्रदेशमा विस्तार गर्ने, एनआरएनए र नेपाल सरकारबीच थप प्रगाढ सम्बन्ध स्थापित गर्नेलगायतका काम गर्ने उनले बताए ।

वर्तमान कार्यसमिति उपाध्यक्ष समेत रहेका केसीले यसअघि आफूले अघि सारेका कामलाई पूरा गर्नका लागि अध्यक्षमा उम्मेदवारी दिने निर्णयमा पुगेको धारणा राखे ।

एनआरएनए १०औँ महाधिवेशमार्फत नयाँ नेतृत्वको लागि कुल आचार्य र रबिना थापाले पनि यसअघि नै उम्मेदवारी घोषणा गरिसकेका छन् ।

Share This:
सम्बन्धित खबर
Loading...