बालुवाटार जग्गा प्रकरण : पूर्वप्रधानमन्त्रीद्वय नेपाल र भट्टराईविरुद्धको मुद्दा प्रधानन्यायाधीशको इजलासमा
काठमाडौँ । पूर्वप्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र डा.बाबुराम भट्टराईलाई ललिता निवासको ११३ रोपनी सरकारी जग्गा व्यक्तिको बनाउने कार्यमा संलग्न रहेको दाबीससहित मुद्दा चलाउन आदेश माग गरिएको मुद्दा पेसीमा चढेको छ ।
सोमबार सर्वोच्च अदालतमा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा र न्यायाधीश नहकुल सुवेदीको संयुक्त इजलासमा एक नम्बरमै पेसी चढेको हो ।
अख्तियारले तत्कालीन प्रधानमन्त्रीद्वय नेपाल र भट्टराईलाई पनि भ्रष्टाचार मुद्दा लगाउनुपर्ने भन्दै अख्तियारविरुद्ध वरिष्ठ अधिवक्ता बालकृष्ण न्यौपानेले दायर गरेको रिटमाथिको सुनुवाइ पटक–पटक पेसी चढ्दै आएको छ ।
उनीहरुले नीतिगत निर्णय मात्र भन्दै अख्तियारले मुद्दा नचलाउने निर्णय गरेको थियो । विशेष अदालतमा पेस गरेको अभियोग पत्रमा पनि सरकार प्रमुखले गरेका नीतिगत निर्णयमा मुद्दा चलाउन सक्ने अधिकार नभएको अख्तियारले उल्लेख गरेको छ ।
पूर्वप्रधानमन्त्रीद्वयविरुद्ध पनि भ्रष्टाचार मुद्दा चलाउन आदेश माग्दै वरिष्ठ अधिवक्ता न्यौपानेले २९ माघ २०७६ मा सर्वोच्च अदालतमा रिट दायर गरेका थिए ।
ललिता निवासको सरकारी जग्गा व्यक्तिका नाममा पुर्याउने निर्णय तत्कालीन प्रधानमन्त्रीहरुकै नेतृत्वमा भएको दाबी रिटमा गरिएको छ । यसअघि उक्त मुद्दामा प्रमाण बुझ्न लिखित जबाफ झिकाउने र निर्णय निर्णय झिकाउने आदेश भएको छ ।
नेपाल २०६६ र २०६७ सालमा प्रधानमन्त्री थिए । भट्टराई भने २०६९ मा प्रधानमन्त्री थिए ।