काठमाडौँ । परराष्ट्रमन्त्री डा.नारायण खड्काले राष्ट्रिय हित र कूटनीतिक सम्बन्ध विस्तारका दृष्टिले आफ्नो अमेरिका भ्रमण सफल भएको बताएका छन् ।
अमेरिकामा भएको संयुक्त राष्ट्रसंघको ७६औँ महासभामा सहभागी भइ बिहीबार स्वदेश फर्केलगत्तै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकार सम्मेलन गर्दै मन्त्री खड्काले महासभामा कोभिड–१९ महामारी, जलवायु परिवर्तन, दीगो विकास लक्ष्यसहितका विषयमा नेपालको स्पष्ट धारणा राखेको जानकारी दिए ।
महासभामा नेपालको प्रतिनिधित्व गर्दै आफूले अल्पविकसित एवं भूपरिवेष्टित देशको रूपमा नेपालको विकासका संरचनात्मक चुनौती अद्वितीय रहेको बताएको उनले बताए ।
मन्त्री खड्काले दीगो विकास लक्ष्य प्राप्तिका लागि सहयोग तथा संयुक्त राष्ट्रसंघसँगको सहकार्यबारे पनि छलफल भएको बताए । महासभामा भाग लिने क्रममा साइडलाइन छलफल भएको र नेपाल र अन्यदेशको सम्बन्धका बारेमा पनि कुराकानी भएको उनको भनाइ छ । फरक प्रसंगमा उनले नेपालको परराष्ट्रनीति आपसी समझदारी र अन्तर्राष्ट्रिय परिवेश अनुसार बनाउनुपर्नेमा जोड दिए ।
खड्का असोज ६ गते परराष्ट्रमन्त्रीको कार्यभार सम्हाले लगत्तै संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन अमेरिकाको न्युयोर्क गएका थिए ।