परराष्ट्रमन्त्री खड्काले भने, ‘एमसीसी संशोधन हुन सक्दैन, हल्ला फिँजाएजस्ताे अमेरिकी सेना आउँदैन’

233

काठमाडौँ । परराष्ट्रमन्त्री डा.नारायण खड्काले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) संशोधन हुन नसक्ने बताएका छन् ।

संयुक्त राष्ट्रसंघको ७६औँ महासभामा भाग लिन न्युयोर्क पुगेका मन्त्री डा.खड्काले त्यहाँ रहेका गैरआवासीय नेपालीहरुले गरेको कार्यक्रममा एमसीसीमा सहीछाप गरिसकेको भन्दै संशोधन हुन नसक्ने बताएका हुन् ।

“सहीछाप गर्दा किन नहेरेको । एमसीसी परियोजना अनुदान हो । हामीले मागेको हो । संशोधन गर्नुपर्ने भए किन नपढ्नु भएको त त्यतिखेर । सबै दलको राष्ट्रिय सहमति प्राप्त गरेपछि अघि बढ्ने हो,” उनले भने ।

उनले एमसीसीको अन्तर्राष्ट्रिय मापदण्ड रहेको बताए । “एमसीसीको अन्तर्राष्ट्रिय मापदण्ड रहेको छ । त्यसका बुँदाहरु नेपालमा संशोधन गर्दा अन्य देशमा समेत समस्या आउन सक्छ,” उनले भने,“त्यहीकारण यो संशोधन गर्न सकिँदैन । यो पाँच वर्षे परियोजना हो, यदि हामीले विवाद झिकिरह्यौँ भने बरु अमेरिकाले फिर्ता लैजान्छ । तर, त्यसको दुरगामी असर भने नेपालले भोगिरहनुपर्छ ।”

सामाजिक सञ्जालले एमसीसीबारे नकरात्मक प्रचार गरेको बताए । “गाउँगाउँमा एमसीसी गलत भनेर छरिएको छ । म आफ्नो जिल्लामा जाँदा कुटाइ खाइएला भन्ने डर भइसक्यो । माइतीघर मण्डलामा खबरदार एमसीसी पास गरेपछि तिमीलाई मार्छौँ भन्ने नारालाग्छ,” उनले भने,“बाबुराम भट्टराईको नेतृत्वको सरकारबाट एमसीसी सुरु भयो । त्यसपछि प्रधानमन्त्री शेरबहादुर देउवा हुँदाखेरी त्यतिबेला अर्थमन्त्रीलाई पठाएर हस्ताक्षर भएको छ । सबै दलका नेतृत्वले नै यदि संशोधन गर्ने नै हो भने त्यतिबेला पास गर्न दिनुहुँदैन थियो ।”

उनले निर्वतमान प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रियसभामा जसरी पनि एमसीसी पास हुने बताए पनि अहिले बोली फेरेको बताए । उनले भने,“ओली सत्ता बाहिर गएपछि संशोधन भएर मात्रै पास हुनुपर्छ भन्नुभएको छ । हामी राष्ट्रिय नेता जबाफदेही हुनुपर्छ । बारम्बार संशोधन गर्दा के पर्छ असर भनेर । अहिले केपी ओली सरकार बाहिर आएपछि संशोधन गर्नुपर्छ भन्नुभयो ।”

एमसीसी नेपालको आवश्यकता भएको कुरा सबै राजनीतिक दललाई अवगत रहेको भन्दै बाहिर हल्ला गरेजस्तो एमसीसी नभएको बताए । “एमसीसी नेपालको आवश्यकता हो । यो कुरा सबै राजनीतिक दललाई अवगत छ । बाहिर हल्ला गरेजस्तो एमसीसी हुँदै होइन र नेपालमा अमेरिकी सेना आउने पनि अफवाह मात्रै हो,” उनले भने,“हाम्रा दल र नेताहरुको दोहोरो चरित्रले समस्या भएको हो । सत्तामा बस्दा पास गर्न जोडबल लगाउनेहरु प्रतिपक्षमा पुगेपछि संशोधनको नारा लगाइरहेका छन् । यसले हाम्रो छविबारे अन्तर्राष्ट्रिय समुदायमा राम्रो सन्देश जाँदैन ।

Share This:
सम्बन्धित खबर
Loading...