काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल ‘एक चीन नीति’को पक्षमा सधैँ उभिने बताएकी छन् ।
बिहीबार राष्ट्रपति भवन शीतल निवासमा सी चिनफिङः चीनको शासन व्यवस्था, खण्ड २’को नेपाली संस्करण पुस्तकको लोकापर्ण गर्दै नेपाल एक चीन नीतिमा सधैँ उभिएको बताएकी हुन् । कार्यक्रममा राष्ट्रपति भण्डारीले मित्र देश चीनका जायज चासो र सरोकारप्रति नेपाल सधैँ संवेदनशील रहेको स्पष्ट पारेकी छन् ।
कार्यक्रममा राष्ट्रपति भण्डारीले पूर्वाधारको पनि पूर्वाधारका रुपमा रहेको शिक्षा क्षेत्रको विकासमा चीन सरकारले प्रदान गर्दै आएको सहयोगका लागि आभार प्रकट गर्दै यस क्षेत्रमा दुई देशबीचको साझेदारीलाई थप सघन तुल्याउनुपर्नेमा सुझाव दिइन् ।
राष्ट्रपति भण्डारीले विश्वव्यापी महामारीका रुपमा देखिएको कोभिड–१९ विरुद्धको खोपलाई विश्व समुदायको सार्वजनिक सेवामा उपलब्ध गराउने र आर्थिक रुपमा सर्वसुलभ बनाइ सबैको पहुँच सुनिश्चित गर्ने चिनियाँ राष्ट्रपति सीको मानवतावादी प्रतिवद्धताबाट नेपाललगायत विश्वका धेरै देश लाभान्वित भएको भन्दै चिनियाँ नेतृत्वको उच्च प्रशंसा गरिन् ।
कार्यक्रममा नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले नेपाल र चीनबीच परापूर्वकालदेखि नै मैत्रीपूर्ण घनिष्ठ सम्बन्ध रहिआएको बताइन् । उनले भूगोल र प्रकृतिले नेपाल र चीनलाई एक–अर्कासँग निकट बनाएको उल्लेख गर्दै दुई देशलाई महान् बौद्ध सभ्यताको साझा विरासतले आपसमा जोडेको बताइन् ।