काठमाडौँ । रौतहट बम विस्फोटको अभियोगमा जिल्ला अदालतको आदेशले पुर्पक्षका लागि थुनामा रहेका नेपाली कांग्रेसका निलम्बित सांसद् मोहमद अफताव आलमको मुद्दा सर्वोच्चमा पेसी चढेको छ।
आलमको मुद्दा न्यायाधीशद्वय दीपककुमार कार्की र हरिप्रसाद फुयाँलको इजलासमा पेसी रहेको छ । आलामले ७३ नम्बरको थुनुवा निवेदन सर्वोच्चमा दायर गरेका थिए। २०७७ असोज १२ गते दर्ता भएको निवेदनमा उनलाई थुनामा पठाउने निर्णय बदर हुनुपर्ने माग गरिएको छ।
जिल्ला,उच्च हुँदै उनको मुद्दा सर्वोच्च आएको हो । आलमको मुद्दा रौतहट जिल्ला अदालतमा विचराधीन रहेको छ ।
आलामलाई २०७६ माघ २४ गते उच्च अदालत वीरगञ्जले पुर्पक्षका लागि थुनामा पठाउने जिल्लाको आदेश सदर गरेको थियो । जिल्ला अदालत रौतहटले थुनामा पठाएको आदेशविरुद्ध पुनरावेदन गर्दै आलम उच्च अदालत वीरगञ्ज पुगेका थिए । उच्चले जिल्ला अदालतकै आदेश सदर गर्दै थुनामै राख्ने आदेश जारी गरेको थियो ।
आलमलाई ४५ वर्ष कैद सजायको माग गर्दै सरकारी वकिलको कार्यालय रौतहटले मुद्दा दायर गरेको थियो । आलमलाई त्रिलोकीप्रताप सिंह र ओसी अख्तर हत्या अभियोगमा २५ वर्ष, सर्लाहीका सफी अहमदलाई बम विस्फोटन गराइ घाइते भएको ज्यान मार्ने उद्योगसम्बन्धी मुद्दामा १० वर्ष र बिस्फोटक पदार्थसम्बन्धी मुद्दामा १० वर्ष गरी ४५ वर्ष कैद सजाय हुनुपर्ने आरोपत्रमा गरिएको थियो ।
२०६४ सालको पहिलो संविधानसभा निर्वाचनका बेला रौतहटका राजपुरमा भएको बम बिस्फोटमा करिब २० जनाभन्दा धेरैको ज्यान गएको थियो । आलमले बनाउन लगाएको बम विस्फोट हुँदा मृत्यु भएका र घाइतेहरुलाई इँटाभट्टामा जलाएर हत्या गर्न लगाइएको अभियोग प्रहरीले उनीमाथि लगाएको छ ।