नरेन्द्र मोदीको पुत्ला दहन गर्नेलाई कडा कारबाही गर्ने सरकारको चेतावनी

326

काठमाडौंँ । सरकारले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पुत्ला जलाउनेलाई कडा कारबाही गर्ने चेतावनी दिएको छ । आइतबार गृह मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै भारतीय प्रधानमन्त्री मोदीको पुत्ला जलाउनेहरुलाई कडा कारबाही गर्ने चेतावनी दिएको हो ।

मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले एक विज्ञप्ति जारी गर्दै छिमेकी मित्र राष्ट्रका प्रधानमन्त्रीको प्रतिष्ठामा आँच आउने गरी नाराबाजी गर्ने, जुलुस निकाल्ने र पुत्ला जलाउनेमाथि कारबाही गर्ने चेतावनी दिएका हुन् ।

“विगत केही दिनयता छिमेकी मित्रराष्ट्रका प्रधानमन्त्रीको प्रतिष्ठामा आँच आउने गरी नाराबाजी गर्ने, जुलुस प्रदर्शन गर्ने र पुत्ला दहन गर्ने गतिविधिप्रति गृह मन्त्रालयको गम्भीर ध्यायानाकर्षण भएको छ । यस्ता उच्छृङ्खल र निन्दनीय गतिविधिप्रति मन्त्रालय गम्भीर आपत्ति प्रकट गर्दछ,” विज्ञप्तिमा भनिएको छ ।

सरकारले सबै मित्रराष्ट्रसँग सम्बन्ध प्रगाढ बनाउन चाहेको पनि मन्त्रालयले जाएको छ । मन्त्रालयले नेपाल सरकार सबै मित्र राष्ट्रहरुसँग पारस्परिक सम्बन्ध अझ प्रगाढ बनाउन चाहेको भन्दै नेपाली भूमिमा कुनै पनि राष्ट्रविरुद्धका गतिविधि हुन नदिने विषयमा कटिबद्ध रहेको बताएको छ ।

गृहले मित्रराष्ट्रहरुसँग लक्षित हुने गतिविधि नियन्त्रण गर्ने पनि जनाएको छ । “मित्रराष्ट्रहरुविरुद्ध लक्षित हुने गतिविधिहरुलाई सरकारले नियन्त्रण गर्न र त्यस्ता गतिविधिमा संलग्न भइ कानुन हातमा लिनेलाई कारबाही गरिने व्यहोरा जानकारी गराइन्छ,” विज्ञप्तिमा भनिएको छ ।

यसअघि एमालेनिकट अनेरास्ववियूका विद्यार्थीहरुले शनिबार रत्न राज्य क्याम्पस, प्रदर्शनीमार्गमा प्रदर्शन गर्दै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पुत्ला दहन गरेको थियो ।

विज्ञप्ति(19).jpg

Share This:
सम्बन्धित खबर
Loading...