‘अफगानिस्तानमा रहेका नेपालीहरुको उद्धारमा सरकारले ढिलाइ गर्नु हुँदैन’

228

काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेस र प्रमुख प्रतिपक्षी नेकपा (एमाले)का नेताहरुले अफगानिस्तानमा रहेका नेपालीहरुलाई उद्धार गरी तत्काल स्वदेश फिर्ता गराउन सरकारको गम्भीर ध्यानाकर्षण गराएका छन् ।

सत्तारुढ दल नेपाली कांग्रेसका नेता रमेश लेखक र प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का नेता डा.राजन भट्टराईले विद्रोही समूह तालिवानले अफगानिस्तानमा तनावग्रस्त बनाइरहेको बेला नेपाली नागरिकहरुको उद्धार गरी तत्काल स्वदेश फिर्ता गराउन गम्भीर भइदिन सरकारको ध्यानाकर्षण गराएका हुन् ।

आइतबार काठमाडौंमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै सत्तारुढ दल नेपाली कांग्रेसका नेता एवम् पूर्वमन्त्री लेखकले नेपाली नागरिकहरुलाई सुरक्षतिक ढंगले स्वदेश फिर्ता गराउन जिम्मेवार भइदिन सरकारसँग आग्रह गरे । उनले अफगानिस्तानमा ठूलो संख्यामा नेपालीहरु रहेको उल्लेख गर्दै उनीहरुको जीवन सुरक्षा गर्न सरकारलाई संवेदनशील भइदिन पनि पटक–पटक आग्रह गरे ।

प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का विदेश विभाग प्रमुख डा.राजन भट्टराईले अफगानिस्तानबाट ढिला नगरी नेपाली नागरिकको स्वदेश फिर्ता गराउने काममा लाग्न सरकारसँग माग गरे । उनले द्वन्द्व र हिंसाको चपेटामा परेका आफ्ना नागरिकको जीवनरक्षा गर्ने काममा सरकार जिम्मेवार हुनुपर्ने पनि बताए ।

उनले भने,“जीवन जोखिममा रहेका नेपाली नागरिकहरुको ढिला नगरी उद्धार गर्नुपर्ने हुन्छ । अरु देशले उद्धार गरिरहेका छन् । नेपाली नागरिहरुको अर्को एजेन्सीसँग काम गरिरहेका हुनाले नयाँ आइरहेको शक्तिहरुले उनीहरुलाई झनै मन नपराउने अवस्था छ । यस्तो अवस्थामा सरकारले नेपाली नागरिकहरुको उद्धारमा ढिलाइ गर्न हुन्न ।”

परराष्ट्रविद् डा.निश्चलनाथ पाण्डेले पनि अफगानिस्तानमा रहेका नेपालीहरुको उद्धारमा ढिलाइ नगर्न सरकारको ध्यानाकर्षण गराए । उनले अन्य देशका नागरिकलाई फिर्ता बोलाउने काम भइरहँदा पनि नेपाल सरकार त्यसमा संवेदनशील हुन नसकेको भन्दै असन्तुष्टि व्यक्त गरे ।

Share This:
सम्बन्धित खबर
Loading...