तमु समाज यूकेद्वारा गोर्खा सत्याग्रह संघर्ष समितिलाई ८५२ पाउन्ड सहयोग

524

लन्डन । गोर्खा सत्याग्रह संघर्ष समिति युकेको आन्दोलनप्रति ऐक्यबद्धता जनाउँदै तमु समाज युकेले व्यवस्थापनका लागि ८५२ पाउन्ड सहयोग गरेको छ ।

शनिबार संस्थापक अध्यक्ष चित्रबहादुर गुरुङ, महासचिव धरम बल गुरुङ र संयोजक कमल गुरुङ आमरण अनशनस्थल लन्डनको प्रधानमन्त्री कार्यालय अघि पुगी सहयोग हस्तान्तरण गरेका हुन् । रिले अनशन थालेको १७ दिनसम्म बेलायत सरकारले माग सुनुवाइका लागि पहल नगरेको भन्दै संघर्ष समितिले आन्दोलन कडा पार्दै लगेको छ । शनिबारदेखि भूपू सैनिक एवं अभियन्ता ज्ञानराज राई, पुष्पा राना घले र धनबहादुर गुरुङले भोक हड्ताल थालेका छन् ।

सत्याग्रहका प्रमुख संयोजक कृष्णबहादुर राईले सरकारले बेवास्ता गरेको भन्दै आमरण अनशन सुरु गरेको बताए । आफूहरुको आन्दोलनमा सबै पक्षको ऐक्यबद्धता समर्थन र हौसला दिएको उनको भनाइ छ । गोर्खा सत्याग्रह संयुक्त संघर्ष समितिका अभियान निर्देशक ज्ञानराज राईले बेलायत सरकारबाट अहिलेसम्म केही प्रतिक्रिया नआएको जनाउँदै यसपटक माग सम्बोधन नभएसम्म आन्दोलन गरिरहने बताए ।

लामो समयदेखि आफ्ना मुद्दाहरुको विषयमा ब्रिटिस सरकारलाई अवगत गराइरहेपनि सरकारले आश्वासन मात्र दिएको तर कार्यान्वयन नगरेको भन्दै भूपू गोर्खाहरु पटक पटक आन्दोलनमा उत्रिरहेका छन् । उनीहरुले ब्रिटिस सरकारसँग कूटनीतिक माध्यमद्वारा सम्पर्क गरी वार्ताको मिति तोक्न नेपाल सरकारसँग पनि माग गरेका छन् ।

Share This:
सम्बन्धित खबर
Loading...