काठमाडौं । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय एवम् मितव्ययी निर्वाचनका लागि संघ, प्रदेश र स्थानीय तहसँग समन्वय र सहकार्य अभिवृद्धि गर्न आवश्यक रहेको बताएका छन् ।
निर्वाचन सञ्चालन एवम् व्यवस्थापनमा सहकार्य र समन्वय सम्बन्धमा निर्वाचन आयोगमा जिल्ला समन्वय समिति महासंघका पदाधिकारीसँगको अन्तरक्रियामा उनले आगामी दिनका सहकार्यको खाँचो औँल्याए ।
निर्वाचन सञ्चालन तथा व्यवस्थापनका सम्बन्धमा समन्वय र सहकार्यको भावी रणनीतिका लागि प्रतिवेदन तयार गर्न आयोगबाट सचिवसहित तीन तथा प्रत्येक संघ महासंघबाट जनप्रतिनिधि एक–एक र कर्मचारी एक–एकको कार्यदल गठन गर्न समेत उनले निर्देशन दिए ।
कार्यम्रममा सहभागीले व्यवस्थित र नियमित मतदाता नामावली संकलन, सहज र सुगम मतदानस्थल एवम् मतदान केन्द्रको व्यवस्था, निर्वाचन कार्यलयको भौतिक संरचना, मतदाता शिक्षाको प्रभावकारिता, मितव्ययी र प्रविधिमैत्री निर्वाचनमा जोड दिए । उनीहरूले विदेशमा रहेका नेपाली नागरिकको मताधिकार प्रयोग गर्ने सम्बन्धमा आयोगको ध्यानाकर्षण गराए ।
लोकतन्त्रको संस्थागत विकास एवम् सुदृढीकरणका लागि निर्वाचन आधारशीला रहेको जनाउँदै सहभागीले निर्वाचनसम्बन्धी आयोगको हरेक कार्यमा समन्वय र सहकार्यका लागि प्रतिबद्धता व्यक्त गरे ।
निर्वाचन आयुक्त डा.जानकीकुमारी तुलाधरले कार्यक्रमको उद्देश्य र सचिव सुरेश अधिकारीले स्थानीय तहसँग सो अवसरमा सहकार्य र समन्वयका सन्दर्भमा भएका संवैधानिक व्यवस्था, कानुनी व्यवस्था, सहयोग एवम् समन्वयका क्षेत्र र आयोगबाट भइरहेका गतिविधिहरुका सन्दर्भमा संक्षिप्त प्रस्तुतीकरण गरे ।