काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले सरकारले सबै नागरिकलाई कोरोनाविरुद्धको खोप उपलब्ध गराउन सम्पूर्ण शक्ति परिचालन गरेको दाबी गरेका छन् ।
उपसभापति निधिले जहाँबाट ल्याएर भए पनि आम जनतालाई कोरोना खोपको व्यवस्था गर्न सरकार प्रतिबद्ध भएर लागि परेको बताएका हुन् ।
शनिबार काठमाडौंको त्रिपुरेश्वरमा स्थापना गरिएको ‘नवरत्न आयुर हेल्थ केयर एन्ड रिसर्च सेन्टर’को उद्घाटन गर्दै उनले प्रधानमन्त्री शेर बहादुर देउवा नेतृत्वको वर्तमान सरकारले कोरोनाविरुद्धको खोपलाई बढी प्राथमिकता दिएको पनि बताए ।
“खोपलाई सरकारले सबैभन्दा बढी प्राथमिकता दिएको छ । अहिले खोपको व्यवस्थापनमा सरकारले सम्पूर्ण शक्ति लगाएको छ । सरकारले जहाँबाट ल्याएर भएपनि नेपाली जनतालाई खोप उपलब्ध गराउँछौँ भनिरहेको छ,” उनले भने ।
उपसभापति निधिले कोरोनाको तेस्रो लहर आउन नदिन पनि सरकार आवश्यक तयारीमा लागि परेको बताए ।