काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले परिवर्तित सन्दर्भमा सामाजिक रुपान्तरणका लागि स्रष्टाहरुले थप योगदान गर्नुपर्ने बताएकी छन् ।
नेपाल प्रज्ञा–प्रतिष्ठानद्वारा बुधबार राष्ट्रपति भवन शीतल निवासमा आयोजित पुरस्कार वितरण कार्यक्रममा राष्ट्रपति भण्डारीले समाजको प्रगतिशील रुपान्तरण र समुन्नतिका लागि स्रष्टाहरुले राष्ट्रिय भावनाको प्रवर्द्धनमा अद्वितियी योगदान गरेको उल्लेख गर्दै असल स्रष्टाहरुको सम्मानले राष्ट्रको शीर उँचो हुने विचार व्यक्त गरिन् ।
उनले बहुभाषिक र बहुसांस्कृतिक इन्द्रेणीयुक्त नेपालमा राष्ट्रिय भावनालाई अभिव्यक्त गर्ने निधिका रुपमा रहेको प्रतिभाको सम्मान गरिनु उच्च चेतना, कला, साधना र अथक योगदानको सम्मान हुने भएकाले प्रज्ञा प्रतिष्ठनाले यस परम्परालाई निरन्तरता दिएकोमा आभार व्यक्त गरिन् ।
कार्यक्रममा राष्ट्रपति भण्डारीले प्रतिष्ठानद्वारा स्थापित प्रज्ञालंकार पुरस्कारबाट विभिन्न स्वादेशी तथा विदेशी स्रष्टालाई सम्मानित गरिन् । समारोहमा राष्ट्रिय कविता महोत्सव–२०७७ र २०७८ का विजयी कविहरुलाई पनि पुरस्कृत गरिएको थियो ।