काठमाडौं । राष्ट्रपति कार्यालयले नेपालको संविधानले दिएको जिम्मेवारी पूरा गर्ने क्रममा राष्ट्रपतिले गरेका काममा मुद्दा नलाग्ने जबाफ सर्वोच्च अदालतमा पठाएको छ ।
राष्ट्रपति कार्यालयका निमित्त सचिव रुपनारायण भट्टराईले मन्त्रिपरिषद् विस्तारविरुद्धमा परेको मुद्दामा महान्यायाधिवक्ता कार्यालयमार्फत शुक्रबार अदालतमा पेस गरेको लिखित जबाफमा राष्ट्रपतिले संवैधानिक जिम्मेवारी पूरा गर्दा मुद्दा नलाग्ने कानुनी व्यवस्था रहेको जनाएको हो ।
“संविधानको धारा ६१(२)मा संविधान र संघीय कानुन बमोजिम कार्य सम्पादन गर्ने जिम्मेवारी राष्ट्रपतिलाई सुम्पिएको विषय उल्लेख गरिएको छ,” लिखित जबाफमा भनिएको छ,“राष्ट्रपतिलाई संविधानले सुम्पिएको जिम्मेवारी पूरा गर्ने सिलसिलामा आफ्नो पदीय हैसियतले सम्पादन गरेका काम कारबाहीको विषयमा निज पदमा रहँदा वा सेवा निवृत भएपछि निज उपर मुद्दा नचलाइने भनी राष्ट्रपति र उपराष्ट्रपतिको पारिश्रमिक तथा सुविधासम्बन्धी ऐन, २०७४ को दफा १६ मा व्यवस्था गरी पदीय उन्मुक्ति प्रदान गरेको छ ।”
नेपालको संविधानको धारा ६६(२)मा राष्ट्रपतिले आफ्नो अधिकार र कर्तव्यको पालना गर्दा संविधान वा संघीय कानुन बमोजिम कुनै निकाय वा पदाधिकारीको सिफारिसमा गरिने भनी किटानी साथ व्यवस्था भएको कार्यबाहेक राष्ट्रपतिबाट सम्पादन गरिने अन्य जुनसुकै कार्य मन्त्रिपरिषद्को सिफारिस र सम्मतिबाट हुने छ भन्ने व्यवस्था भएको लिखित जबाफमा छ ।