देशको विविधतालाई द्वन्द्वको विषय बनाउनु हुँदैन : प्रधानमन्त्री ओली

306

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको विविधतालाई मनमुटाव र द्वन्द्वको विषय बनाउन नहुने जोड दिएका छन् ।

सप्तरीको राजविराजस्थित रामराजा स्वास्थ्य विज्ञान प्रतिष्ठनाको भर्चुअल माध्यमबाट शिलान्याश गर्दै उनले भने,“हाम्रो देशमा भौगोलिक, प्राकृतिक, सामाजिक, जैविक, भाषिक विविधता छ । यो हाम्रो सम्पदा, सम्पन्नता हो, समृद्धि हो । यसलाई हामीले मनमुटावको विषय बनाउनुहुन्न । द्वन्द्वको विषय बनाउनुहुन्न ।”

उनले स्वास्थ्य विज्ञान प्रतिष्ठान निर्माणको काम चाँडै सुरु हुनेसमेत बताए । “भवन निर्माणको काम छिट्टै सुरु हुने छ,” प्रधानमन्त्री ओलीले भने ।

प्रधानमन्त्री ओलीले सरकारले कृषि उत्पादनलाई विदेशमा निर्यात गर्ने स्थितिमा पुर्याएको पनि बताए । “कृषिमा गुणस्तरीय उत्पादन र निर्यातका लागि काम गर्यौँ । खेतहरुमा सिंचाइको प्रबन्ध हामीले गर्यौँ,” उनले भने,“हामी विकास गर्न सक्छौँ । विकासका कामलाई अगाडि बढाउन सक्छौँ ।”

२०७५ भदौं १ गते प्रधानमन्त्री ओलीले प्रदेश २ को प्रदेश सभालाई सम्बोधन गर्दै राजविराजमा गणतन्त्रवादी नेता रामराजा प्रसाद सिंहको नाउँमा मेडिकल कलेज स्थापना गर्ने घोषणा गरेका थिए ।

जसका लागि राजविराज नगरपालिकाले १० नम्बर वडा बिरौलस्थित हुलाकी राजमार्ग छेउमा ६२ विगहा जग्गा उपलब्ध गराएको थियो । तर, उक्त जग्गा यसअघि नै नगरपालिकाले कृषि हाट बजारका लागि लिजमा दिइसकेको भन्दै स्थानीय एक सहकारी संस्थाले दाबी गरेपछि विवाद भएको थियो ।

झन्डै १२ अर्बको लागत रहेको प्रतिष्ठान निर्माण कार्य तीव्र गतिमा बढाउने र पाँच वर्ष भित्र सम्पन्न गरी सञ्चालनमा ल्याउने लक्ष्य रहेको रामराजा स्वास्थ्य विज्ञान प्रतिष्ठान पूर्वाधार तयारी विकास समितिले जनाएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...