एमालेद्वारा कर्णाली प्रदेशसभाको बैठक अवरुद्ध, तीनजना मन्त्रीको राजीनामा माग

575

सुर्खेत । नेकपा (एमाले)को अवरोधपछि कर्णाली प्रदेश प्रदेशसभाको शुक्रबारको बैठक अवरुद्ध भएको छ । आफ्नो दलबाट सरकारमा सहभागी ३ मन्त्रीले राजीनामा दिनुपर्नेलगायतका माग राखेर एमालेले शुक्रबारको संसद् बैठक अवरुद्ध गरेको हो ।

बैठकको सुरुमै एमालेका सांसद् देवी वलीले गत वैशाखमा एमालेको ह्विप उल्लङ्घन गरी मुख्यमन्त्रीलाई विश्वासको मत दिने चारजना सांसद्लाई पुरानै अवस्थामा फर्काएपनि सोही बमोजिम आदेश कार्यान्वयन नभएको बताइन् ।

एउटा परिस्थितिमा सरकारमा सामेल भएका व्यक्तिहरु सर्वोच्चको आदेशपछि अर्को परिस्थिति भइसकेकोले उनीहरु सरकारमा सहभागी हुन नसक्ने उनले बताइन् । उनले न्यायालयले दिएको आदेशको उल्लङ्घन भएको भन्दै सांसद्को कारबाही अगाडि बढ्न नदिने उल्लेख गरिन् ।

सभामुख राज बहादुर शाहीले बजेटमाथिको छलफल अगाडि बढाउन सहयोग गर्न आग्रह गरेपनि एमालेका सांसद्हरुले उठेर विरोध जनाए । सभामुख शाहीले बस्न आग्रह गरेपनि एमालेका सांसद्हरुले उठेर विरोध जनाइरहेपछि प्रदेशसभाको बैठक आगामी बिहीबारसम्मका लागि स्थगित भएको छ ।

माओवादी नेतृत्वको सरकारमा एमालेका ३ मन्त्रीहरु भौतिक पूर्वाधार तथा सहरी विकासमन्त्री अम्मर बहादुर थापा, भूमि व्यवस्था कृषि थगा सहकारीमन्त्री कुर्मराज शाही र उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री नन्दसिंह बुढा सहभागी छन् ।

Share This:
सम्बन्धित खबर
Loading...