उपविजेता बन्दै क्रोएसिया नकआउट चरणमा

377

काठमाडौं । १६औँ संस्करणको युरोकप अन्तर्गत समूह चरणको अन्तिम खेलमा जित निकाल्दै क्रोएसिया प्रिक्वाटरफाइनलमा प्रवेश गरेको छ । समूह ‘डी’मा रहेको क्रोएसिया समूह उपविजेता बन्दै नकआउट चरणमा पुगेको हो ।

मंगलबार राति भएको खेलमा क्रोएसियाले स्कटल्यान्डमाथि ३–१ गोलको जित निकालेको हो । क्रोएसियाको जितमा निकोला भ्लासिच, लुका मोड्रिच र इभान पेरिसिचले एक–एक गोल गरे भने स्कटल्यान्डका कलुम म्याकग्रिगोरले सान्त्वना गोल फर्काए ।

क्रोएसियाले खेलको १७औँ मिनेटमा स्कटल्यान्डविरुद्ध अग्रता लिएको थियो । निकोला भ्लासिचले गोल गरेका थिए । ४२औँ मिनेटमा कलुम म्याकग्रिगोरले गोल गर्दा स्कटल्यान्डलाई खेलमा फर्काएका थिए ।

पहिलो हाफ १–१ गोलको बराबरीमा सकिएको खेलमा क्रोएसियाले कप्तान लुका मोड्रिचकाे गोलमा पुनः अग्रता लियो । यस्तै, ७७औँ मिनेटमा इभान पेरिसिचले गोल गर्दै क्रोएसियालाई ३–१ को जित दिलाए ।

जितसँगै समूह ‘डी’को क्रोएसियाले ३ खेलबाट ४ अंक जोड्यो । क्रोएसियाले चेक रिपब्लिकलाई पछि पार्दै समूह उपविजेताको रुपमा अन्तिम १६ मा प्रवेश गरेको छ । समान ४–४ अंकका साथ गोलअन्तर बराबर भएपछि बढी गोलको आधारमा क्रोएसिया अघि बढेको हो ।

Share This:
सम्बन्धित खबर
Loading...