काठमाडौं । डडेल्धुरामा कोरोना खोप अभियानमा खटिएकी स्वास्थ्यकर्मी अस्मितादेवी धामी मृत फेला परेकी छन् । परशुराम–८को जमरानी आधारभूत स्वास्थ्य इकाई केन्द्रमा करारमा कार्यरत २६ वर्षीया अस्मितादेवी धामीको शनिबार परशुराम–९ को हट्यानी सामुदनयिक वनमा शव फेला परेको छ । धामी असार २ गतेदेखि बेपत्ता भएकी थिइन् ।
भेरोसेल खोप अभियान सकाएर कार्यालयबाट कोरोनाको बचेको खोप र स्वास्थ्य सामग्री लिएर जोगबुडा अस्पताल निस्किएकी थिइन् । तर, २ दिनदेखि स्वास्थ्य सम्पर्कमा नआएपछि उनको ससुराले जिल्ला प्रहरी कार्यालयमा निवेदन दिएको र त्यसपछि स्थानीय र प्रहरीले खोजी गर्दा शनिबार बिहान साढे ११ बजे वनमा शव भेटिएको थियो ।
भ्याक्सिन क्यारियर बक्ससहित मानिस आवातजावत गर्ने बाटैमा उनको शव भेटिएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रवक्ता एवम् प्रहरी निरीक्षक राजेन्द्र चन्दले जानकारी दिए ।
उनले धामीको शरीरमा नीलडाम रहेको, चिउँडोमा चोट लागेको अवस्थामा शव भेटिएको जानकारी दिँदै घटनाबारे छानबिन भइरहेको बताए । सहकर्मी हत्या भएको भन्दै स्वास्थ्यकर्मीहरुले घटनाको छानबिन गरी दोषीमाथि कडा कारबाहीको माग गरेका छन् ।