काठमाडौं । नेकपा एमालेका नेता तथा पूर्वमन्त्री गोकर्ण विष्टले पार्टी एकता जोगाउन अन्तिम क्षणसम्म इमान्दार प्रयत्न रहने बताएका छन् ।
उनीसहित १५ जना एमाले नेताले बुधबार विज्ञप्ति निकालेर पार्टी एकताका पक्षमा जोड दिएका थिए ।
नेता माधव कुमार नेपालनिकट रहेका विष्टले एमालेको पार्टी संरचना २०७५ जेठ २ अनुसार अगाडि बढाउनुपर्नेमा पनि जोड दिएका छन् ।
“नेकपा एमाले र जनसंगठनका सबै तहका कमिटीहरुलाई २०७५ जेठ २ को पूर्ववत् अवस्थामा फर्काएर पार्टी एकतालाई जोगाउन हाम्रो तर्फबाट अन्तिम क्षणसम्म इमान्दार प्रयत्न रहनेछ,”उनले फेसबुकमा लेखेका छन्,“ राष्ट्र, जनता, लोकतन्त्र र कम्युनिस्ट आन्दोलनको रक्षाका लागि सही विचार र कार्यदिशा अवलम्बन गरेको सवल एवम् एकीकृत पार्टीले मात्रै महत्वपूर्ण जिम्मेवारी निर्वाह गर्न सक्दछ ।”
प्रधानमन्त्रीसमेत रहेका केपी शर्मा ओलीले माधव कुमार नेपालसहित ११ जना नेतालाई पार्टीको साधारण सदस्यतासमेत नरहनेगरी पाटीबाट निष्कासन गरेका थिए ।