गण्डकी । गण्डकी प्रदेशसभा सदस्य राजीव गुरुङ‘दीपक मनाङे’ले पुनः मन्त्रीको शपथ लिएका छन् ।
प्रदेश प्रमुख सीता कुमारी पौडेलले मनाङेलाई आइतबार युवा तथा खेलकुद मन्त्रीको रुपमा शपथ गराएकी हुन् । यसअघि वैशाख १६ गते मनाङे युवा तथा खेलकुद मन्त्रीमा नियक्त भएका थिए ।
पहिलो पटक मन्त्री नियुक्त भएका मनाङेले त्यतिबेला यो सरकार दुई साता पनि नटिक्ने बताएका थिए । नभन्दै वैशाख २६ गते गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले राजीनामा दिएपछि उनको मन्त्री पद १० दिनमै गएको थियो ।
संविधानको धारा १६८ (२) अनुसार विपक्षी गठबन्धनले बहुमत जुटाउँन नसकेपछि संविधानको धारा १६८ (३) बमोजिम ठूलो दलको नेताको हैसियतमा प्रदेश प्रमुख पौडेलले पुनः मुख्यमन्त्रीमा गुरुङलाई नै नियुक्त गरेकी थिइन् ।
मुख्यमन्त्री नियुक्त भएको साता दिनपछि गत बिहीबार गुरुङले मन्त्रिपरिषद् विस्तार गरेका थिए । उनले पुरानै ५ जना मन्त्री नियुक्त गरेर बिहीबार नै अन्य मन्त्रीले शपथ लिए पनि मनाङे काठमाडौं भएकाले छुटेका थिए ।
मन्त्रीको शपथ लिनसाथ मनाङे युवा तथा खेलकुद मन्त्रालय पुगेर कार्यभार सम्हालेका छन् ।