काठमाडौं । नेकपा (एमाले)का दुई पक्षबीच विवाद चर्किरहेको बेला वरिष्ठ नेता माधव कुमार नेपालनिकट एक युवाले निर्वाचन आयोगमा नयाँ दल दर्ताका लागि निवेदन दिएका छन् ।
एमालेको भ्रातृ संगठन अनेरास्ववियूका पूर्व युवा नेता जीवन राईले नेकपा (एकीकृत) नामको दल दर्ताका लागि आयोगमा निवेदन दिएका हुन् । उनी अध्यक्ष रहेको पार्टीको चुनाव चिन्ह ‘कलम’राखिएको छ ।
राई काठमाडौंस्थित पशुपति क्याम्पसका पूर्वविद्यार्थी नेता हुन् । सङ्खुवासभा घर भएका राईले शुक्रबार दल दर्ताका लागि आयोगमा निवेदन दिएका हुन् । “जेठ ७ गते दल दर्ताका लागि निवेदन दिएको छु । दर्ता प्रक्रिया सकिएपछि थप कुरा बताउने छु,” राईले भने ।
२५ सदस्यीय केन्द्रीय कमिटी रहेको सो दलको उपाध्यक्षमा कल्पना गुरुङ, विनोद कुमार खुलाल महासचिव, ऐनविक्रम कुँवर सचिव र सुशिला खनाल कोषध्यक्ष रहेका छन् ।
दल दर्ताका लागि पेस गरेको कागजात अध्ययन गर्ने काम भइरहेको निर्वाचन आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए । दल दर्ताका लागि प्राप्त निवेदन र कागजात अध्ययन गर्ने काम भइरहेको प्रवक्त श्रेष्ठले बताए ।
एमाले फुटको संघारमा पुगेको बेला निर्वाचन आयोगमा एमालेका युवा नेताले नयाँ दल दर्ताका लागि निवेदन दिनुलाई अर्थपूर्णं ठानिएको छ ।