काठमाडौं । नेकपा (माओवादी केन्द्र) सिधैँ संविधानको धारा ७६को ५ अनुसार नयाँ सरकार गठन प्रक्रिया सुरु गर्नुलाई संसद् विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओली र सरकारको तयारीको रुपमा अर्थ्याएको छ ।
माओवादी केन्द्र संसदीय दलका प्रमुख सचेतक देव गुरुङले संवैधानिकरुपले संविधानको धारा ७६ को ३ अनुसार बनेको सरकारले उपधारा ४ को अभ्यास गर्नुपर्ने भएपनि उपदफाको प्रयोग गर्दिन भनेर भन्न पाउने संविधानले परिकल्पना नगरेको बताए ।
“धारा ७६(३) को सरकारले उपधारा ४ प्रयोग गर्नुपर्ने हो । त्यो नगरिकनै एकैचोटी उपधारा ५ मा जम्प गरे,” प्रमुख सचेतक गुरुङले भने ।
गुरुङले राष्ट्रपतिले एकदिनको समय दिएर सरकार बनाउन दिएको आदेश फर्मालिटी पूरा गर्ने र सरकार गठन हुन नसकोस् भन्ने आशय लुकेको बताए । “उपधारा ५ का लागि पनि जुन ‘टाइमफ्रेम’ तोकिएको छ, यो सरकार बन्न नसकोस् भन्ने उद्देश्यबाट अभिप्रेरित भएको देखिन्छ,” गुरुङले भने ।