काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले शपथ ग्रहणका क्रममा ‘प्रतिज्ञा गर्छु’ भन्न इन्कार गरेपछि सर्वोच्च अदालतमा हालिएको मुद्दाको सुनुवाइ आज हुने भएको छ ।
प्रधानमन्त्री ओलीले फेरि शपथ लिनुपर्ने जिकिर गर्दै वरिष्ठ अधिवक्ता चन्द्रकान्त ज्ञवाली, अधिवक्ताद्वय लोकेन्द्र ओली र सन्तोष भण्डारीले दिएको रिट निवेदन सर्वोच्च अदालतले सोमबार दर्ता गरेको थियो ।
प्रधानमन्त्री ओलीको शपथग्रहण बदर गरी पुनः शपथ गरायन माग गर्दै परेको रिटमाथिको सुनुवाइ प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको एकल इजलासमा हुने भएको छ ।
यस्तै, उनले पुनः नियुक्ति दिएका ७ मन्त्रीविरुद्ध परेका रिट निवेदनको सुनुवाई पनि आजै हुने तय भएको छ । सांसद् नरहेका व्यक्तिलाई पुनः मन्त्रीमा नियुक्ति दिनु कानुनविपरीत भएको जिकिर निवेदनकर्ताले गरेका छन् ।
संविधानको धारा ७८ अनुसार संघीय संसद्को सदस्य नभएका व्यक्ति बढीमा ६ महिनासम्म मन्त्री हुन पाउने र त्यो अवधिभित्र उपचुनावमार्फत् सांसद् पदमा निर्वाचित नभए स्वतः मन्त्रीबाट हट्नुपर्ने संवैधानिक व्यवस्था छ ।
यसविपरीत ओलीले माओवादी केन्द्र छाडेर एमालेमा प्रवेश गरेका राम बहादुर थापा‘बादल’ टोप बहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह, गौरीशंकर चौधरी र दावा लामा तामाङलाई पुनः मन्त्री बनाएका छन् ।
्