काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेता माधव कुमार नेपालबीच भेटवार्ता तय भएको छ ।
पार्टी विवाद निर्णायक बिन्दुमा पुगेको बेला ओली नेपालबीच भेटवार्ता र संवाद तय भएको स्थायी कमिटी सदस्य सुवास नेम्वाङले जानकारी दिए ।
“बिहान प्रधानमन्त्रीज्यूले माधव नेपाललाई फोन गर्नुभएको थियो । उहाँले दुई घन्टापछि खबर गर्छु भन्नुभएको थियो, गर्नुभएको छैन । उताबाट खबर आउनसाथ भेट तय हुन्छ,” नेम्वाङले भने ।
बिहीबार नै नेकपा एमाललेको स्थायी कमिटी बैठकले नेता नेपाल, भीम रावल, घनश्याम भुसाल र सुरेन्द्र पाण्डेको निलम्बन फुकुवा गरेको थियो ।
आज बिहान नेता विष्णुप्रसाद पौडेलले नेता नेपालसँग भेटवार्ता गरेका थिए । भेटका क्रममा पौडेलले सांसद् पदबाट राजीनामा दिँदा सरकार र पार्टी दुवै नजोगिने भएकाले छलफलमा बस्न प्रस्ताव राखेका थिए ।