काठमाडौं । नयाँ सरकार गठनका लागि राष्ट्रपति विद्यादेवी भण्डारीले दिएको समय आज सकिँदैछ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले संसद्बाट विश्वासको मत प्राप्त गर्न नसकेपछि २७ गते राति ९ बजे राष्ट्रपति भण्डारीले दलहरुलाई बहुमतको सरकार गठनका लागि ३ दिनको समय दिएकी थिइन् । तर, सरकार गठनको नेतृत्व गर्न अग्रसर भएको नेपाली कांग्रेसले बहुमत जुटाउन सकेको छैन ।
नेपाली कांग्रेसलाई नेकपा (माओवादी केन्द्र)ले समर्थन गरेपनि बहुमतका लागि पर्याप्त हुँदैन । ३२ जना सांसद रहेको जनता समाजवादी पार्टी (जसपा)ले पनि साथ दिनुपर्ने हुन्छ । तर, जसपा दुई खेमामा विभाजित हुँदा गठबन्धनको नयाँ सरकार बन्ने सम्भावना कम हुँदै गएको छ ।
जसपाका अध्यक्ष महन्थ ठाकुर र नेता राजेन्द्र महतोले आफूहरु नयाँ सरकारमा नजाने भन्दै राष्ट्रपति भण्डारीलाई पत्र समेत लेखिसकेका छन् । तर, अर्का अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले भने जसरी पनि केपी शर्मा ओलीलाई हटाउनुपर्ने भन्दै कांग्रेसलाई साथ दिने निर्णय गरिसकेका छन् ।
जसपाले साथ नदिएपछि कांग्रेस सभापति देउवाले नेकपा एमालेको माधव कुमार नेपाल समूहको साथ खोजेका छन् । उनले नेपाल समूहका सांसद्ले राजीनामा दिएमा जसपाको ठाकुर पक्षले साथ नदिएपनि नयाँ सरकार बन्ने बताएका छन् । राजीनामा दिएर नयाँ सरकार गठनमा देउवालाई सघाउने बताए पनि नेपाल पक्षीय सांसद्ले अहिलेसम्म राजीनामा दिएका छैनन् ।
अहिले संसद्मा २ सय ७१ सांसद् संख्या कायम रहेकोमा बहुमतका लागि १ सय ३६ मत आवश्यक पर्छ ।