काठमाडौं । नेकपा एमालेको झलनाथ खनाल–माधवकुमार नेपाल पक्षका सांसदहरुले तत्काल राजीनामा नदिने भएका छन् । त्यस्तै उनीहरुले सोमबार बस्ने संसद बैठकमा अनुपस्थित हुने निर्णय पनि गरेका छन् ।
सिंहदरबारमा सोमबार बसेको सो पक्षको बैठकले सरकारलाई विश्वासको मतका लागि दिउँसो हुने मतदानमा अनुपस्थित हुने निर्णय गरेको नेता भीम रावलले जानकारी दिए ।
नेपालको संविधान, नेपालको लोकतन्त्रको मूल्य मान्यताको रक्षाका लागि अनुपस्थित हुने निर्णय गरेको उनले बताए ।
त्यस्तै रावलले संसद विघटन गर्ने, दल विभाजनको प्रयास गर्न्, भ्रष्टाचारको संरक्षण गर्ने र विश्वासको मत लिने एक दिनअघि संवैधानिक परिषद् बोलाएर नियुक्ति गर्ने प्रधानमन्त्री केपी लाई विश्वासको मत दिनु भनेको लोकतन्त्रलाई कमजोर बनाउने राजनीतिक नैतिकतालाई ध्वस्त गर्ने काम हुने तर्क गरे ।
आफूहरुले सामूहिक राजीनामा दिने विषयमा पनि छलफल गरेको तर अहिलेलाई अनुपस्थित हुँदा पुग्ने निष्कर्षमा पुगेको पनि उनले बताए । रावलले केपी शर्मा ओली नै सर्वोच्चको फैसलाभन्दा विपरीत हिँडेकाले अवैध अध्यक्ष भएको र अवैध अध्यक्षले दिएको निर्देशन मान्य नहुने तर्क गरे ।
यसअघि एमालेले आफ्ना सबै सांसदलाई संसदमा उपस्थित भएर विश्वासको मतको पक्षमा मतदान गर्न ह्विप जारी गरेको थियो । तर नेपाल पक्षले भने त्यसविपरित बैठकमा नजाने निर्णय गरेको हो ।
नेपाल पक्षले पार्टी एकताका लागि ६ बुँदे शर्त पूरा नभए सांसदबाट राजीनामा दिने चेतावनीसहित सोमबार बिहान ९ बजेसम्मको अल्टिमेटम दिएका थिए ।