काठमाडौँ, २३ कात्तिक । चाडपर्वको समयमा घ्युको माग उच्च भए पनि स्वदेशी डेरी उद्योगले बजारको मागअनुसार आपूर्ति गर्न सकेका छैनन् । दुध उत्पादन अपेक्षित रूपमा नबढ्नु र सीमाबाट हुने अनौपचारिक आयात नियन्त्रणमा आउनुले घ्यु तथा बटरको आपूर्तिमा दबाब परेको उद्योगीले बताएका छन् ।
सीताराम गोकुल मिल्क्स प्रालिका निर्देशक तथा नेपाल डेरी एसोसियसनका पूर्वअध्यक्षसमेत रहनुभएका सुमित केडियाले उद्योगलाई आवश्यक पर्ने कच्चा पदार्थका रूपमा १५ किलोका प्याकेटमा बटर आयात गर्न अनुमति दिन सरकारसँग माग गर्नुभएको छ । स्वदेशी उत्पादनले बजारको माग धान्न नसकेको अवस्थामा निश्चित अवधिका लागि यस्तो सुविधा दिनुपर्ने उहाँको भनाइ छ ।
केडियाका अनुसार उहाँको उद्योगले सामान्य अवस्थामा मासिक करीब १० टन घ्यु बिक्री गर्दै आएकोमा अहिले साढे ३ टनभन्दा बढी आपूर्ति गर्न सकेको छैन । यसअनुसार उद्योगको घ्यु आपूर्ति सामान्य अवस्थाको तुलनामा ६५ प्रतिशतभन्दा बढी घटेको छ ।
“मिठाई पसल, होटल र रेस्टुरेन्टबाट लगातार माग आइरहेको छ, तर हामीले दिन सकिरहेका छैनौँ,” उहाँले भन्नुभयो, “हामीसँग वर्षभरिका लागि आपूर्ति सम्झौता गरेका ग्राहकलाई समेत मागअनुसार सामान दिन नसक्दा व्यावसायिक सम्बन्धमा समस्या पर्न थालेको छ ।”
उहाँका अनुसार दुध उत्पादन बढ्ने मौसम सुरू भए पनि किसानबाट सङ्कलन हुने दुध अपेक्षित रूपमा बढ्न सकेको छैन । सामान्य अवस्थामा दैनिक ३५ देखि ४० लाख लिटरको हाराहारीमा पुग्ने दुध उत्पादन अहिले अपेक्षित स्तरमा पुग्न नसकेको उहाँले बताउनुभयो ।
नेपालमा कात्तिकदेखि फागुनसम्म दुध उत्पादन बढ्ने समय मानिन्छ । तर, यस वर्ष उक्त अवधिमा उत्पादन अपेक्षित रूपमा नबढ्दा डेरी उद्योगले घ्यु र बटर उत्पादनका लागि आवश्यक कच्चा पदार्थ पर्याप्त पाउन सकेका छैनन् ।
त्यसमाथि भारतबाट अनौपचारिक रूपमा आउने दुग्ध पदार्थको आपूर्ति नियन्त्रणमा आउँदा बजारमा थप अभाव देखिएको केडियाको विश्लेषण छ । विगतमा स्वदेशी उत्पादन र अनौपचारिक आयात दुवैले बजारको माग धान्न सहयोग गरेको भए पनि अहिले अनौपचारिक आपूर्ति घट्दा बजारमा अन्तर बढेको उहाँले बताउनुभयो ।
उहाँले अनौपचारिक आयात नियन्त्रणलाई सकारात्मक रूपमा लिए पनि त्यसको विकल्पमा उद्योगलाई आवश्यक कच्चा पदार्थ आयात गर्न लचिलो व्यवस्था गर्नुपर्ने बताउनुभयो । “हामीले सबै दुग्ध पदार्थ आयात गर्न दिनुपर्छ भनेका छैनौँ । उद्योगको कच्चा पदार्थका रूपमा प्रयोग हुने १५ किलोको बटर केही समयका लागि आयात गर्न अनुमति दिनुपर्छ भन्ने मात्रै हाम्रो माग हो,” उहाँले भन्नुभयो ।
उद्योगले आयात गरेको बटरबाट घ्यु उत्पादन गरी बजारमा आपूर्ति गर्न सक्ने र स्वदेशी दुध उत्पादन बढेपछि आयात रोक्न सकिने उहाँको भनाइ छ । सरकारले आयात नीति बजारको अवस्था र उद्योगको आवश्यकताअनुसार समयमै परिवर्तन गर्नुपर्ने उहाँले बताउनुभयो ।
घ्युको अभावले उपभोक्ताको उपभोग व्यवहारमा समेत परिवर्तन आउन सक्ने उहाँले बताउनुभयो । बजारमा घ्यु उपलब्ध नभए उपभोक्ताले विकल्पका रूपमा खानेतेल प्रयोग गर्न सक्ने र त्यसले स्वदेशी डेरी उद्योगको बजारसमेत प्रभावित पार्ने उहाँको भनाइ छ ।
पाउडर र बटरको मौज्दातबाट अभावको अवस्थासम्म
केडियाका अनुसार केही वर्षअघि नेपालमा दुध उत्पादन बढ्दा बजारमा खपत हुन नसकेको दुधबाट उद्योगले पाउडर र बटर उत्पादन गरी भण्डारण गर्ने गरेका थिए । त्यसबेला मौज्दात बढ्दा उद्योगको भुक्तानी चक्र प्रभावित हुने र किसानले दुधको पैसा पाउन ढिलाइ हुने अवस्था थियो ।
तर, अहिले अवस्था फेरिएको छ । उद्योगसँग दुध पाउडर र बटरको पर्याप्त मौज्दात छैन भने किसानको भुक्तानीमा पनि विगतको तुलनामा सुधार आएको उहाँले बताउनुभयो । उहाँका अनुसार अहिले किसानको भुक्तानीमा पहिलेको जस्तो समस्या छैन ।
उहाँले नेपाली डेरी उद्योगको उत्पादन क्षमता र गुणस्तरमा पनि सुधार आएको दाबी गर्नुभयो। विगतमा प्रशोधन प्रविधि र कच्चा दूधको गुणस्तरमा समस्या भए पनि अहिले उद्योगले उत्पादनको गुणस्तर सुधार गरेको उहाँको भनाइ छ ।
होटल तथा रेस्टुरेन्ट व्यवसायीले नेपाली दुग्ध पदार्थको गुणस्तरबारे पुरानो धारणा परिवर्तन गर्नुपर्ने उहाँको आग्रह छ । नेपाली उत्पादन प्रयोग गरेर आवश्यक सुधारका विषयमा उद्योगलाई सुझाव दिनुपर्ने उहाँले बताउनुभयो ।
यसैबिच, राज्यले सार्वजनिक क्षेत्रको दुग्ध विकास संस्थान (डिडिसी)लाई मात्र प्रवर्द्धन गरेको सन्देश जान नहुने भन्दै केडियाले निजी क्षेत्रका डेरी उद्योगलाई पनि समान रूपमा प्रोत्साहन गर्नुपर्ने बताउनुभयो। प्रधानमन्त्रीलगायत राज्यका उच्च पदाधिकारीले सार्वजनिक र निजी दुवै क्षेत्रका दुग्ध पदार्थ प्रयोग गर्दा बजारमा सकारात्मक सन्देश जाने उहाँको भनाइ छ । –नेपाल न्युज बैङ्क