टिपरको ठक्करबाट आमाको मृत्यु, छोरा घाइते

2

नेपालगञ्ज, २८ चैत । बाँकेको कोहलपुर नगरपालिका–१५, अक्कलघरवामा आज टिपरले मोटरसाइकललाई ठक्कर दिँदा एक महिलाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दीपक पातलीले कोहलपुरको भित्री सडकमा मोटरसाइकललाई टिपरले ठक्कर दिँदा मोटरसाइकलमा सवार जाजरकोट छेडागाउ नगरपालिका–५ का ५७ वर्षीया देवीसरा रावतको घटनास्थलमै मृत्यु भएको जानकारी दिनुभयो । सो घटनामा मोटरसाइकल चालक उहाँका छोरा सुदीप रावत गम्भीर घाइते हुनुभएको छ ।

प्रनाउ पातलीका अनुसार स्थानीय गुरुवा गाउँदेखि हवलदारपुरतर्फ गइरहेको कर्णाली प्रदेश ०२–००१ ब ०३६१ नम्बरको मोटरसाइकललाई हवलदारपुरबाट गुरुवागाउतर्फ गइरहेको भे १ ख ३२३२ नम्बरको टिपरले अक्कलघरवामा ठक्कर दिएको थियो । दुर्घटनामा गम्भीर घाइते हुनुभएका सुदीप रावतको नेपालगञ्जस्थित सञ्जिवनी अस्पतालमा भइरहेको उल्लेख गर्दै रावतको छाती र टाउकोमा गम्भीर चोट लागेको जनाइएको छ ।

दुर्घटनापछि फरार भएका टिपर चालक बाँके राप्ति सोनारी–९ निवासी टेकबहादुर विष्टलाई प्रहरीले पक्राउ गरेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...