काठमाडौँ, २८ चैत । सभामुख डोलप्रसाद अर्यालले अब कानुन निर्माण र संशोधनको काम फाष्ट ट्रयाकमा गरिने बताउनुभएको छ ।
शनिबार काठमाडौँमा आयोजित लायन्स क्लबको ४औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै उहाँले नेपालमा धेरै क्षेत्रमा कानुनहरू बनाउन र संशोधन गर्न बाँकी रहेको बताउँदै राष्ट्र र राष्ट्रियताको लागि कानुन बनाउने कुरामा इमान्दार र निष्पक्ष भएर भूमिका निार्वाह गर्ने बताउनुभयो ।
उहाँले भन्नुभयो, “नेपालमा धेरै क्षेत्रमा कानुनहरु बनाउन र संशोधन गर्न बाँकी छ । कानुन, ऐन, नियमावली र कार्यविधि कुनै पनि ठाउँमा संशोधन गर्नुपर्ने छ भने, कसैको अहितमा कुनै पनि कानुन छ भने त्यो कानुनलाई फाष्ट ट्रयाकमा संशोधन गरेर नयाँ बनाउँछौँ । यो राष्ट्र र राष्ट्रियताका लागि कानुन बनाउने कुरामा एक इञ्च पनि दायाँ–बायाँ नभइ इमान्दार र निष्पक्ष भएर भूमिका निर्वाह गर्ने छु । जति ढिला भयो उति समस्या बढ्न सक्छ । त्यसैले मेरो काम फाष्ट ट्रयाकमा काम हुने छ ।”
त्यस्तै, उहाँले लायन्स क्लबले सामाजिक क्षेत्रमा धेरै राम्रो काम गरे पनि त्यसको समाचार मिडियामा पर्याप्त रूपमा नआएको टिप्पणी गर्नुभयो । सञ्चारमाध्यमको ध्यान यतातर्फ कम गएको हो कि, वा स्पोन्सर÷खर्चको अभावका कारण हो भन्दै उहाँले प्रश्न गर्नुभयो ।
उहाँले भन्नुभयो, “लायन्स क्लबले यति धेरै राम्रो कामहरु गरेको छ । तर, यसको कामको कुरा मिडियामा त्यति धेरै देख्न पाएको छैन । सञ्चारमाध्यमको किन आँखा जाँदैन यतातिर ? सञ्चारमाध्यलाई स्पोन्सरको कमि भएको हो कि ? खर्च दिन नपुगेको हो कि ? नत्र देशभरि यत्रो काम हुन्छ । लायन्स क्लबले काम नगरेको कुनै क्षेत्र नै छैन । तर, किन कुनै लेखहरु आएनन् ? एकजना मन्त्रीले गरेको कार्यक्रममा चाहिँ सबै जना जाने । यस्तो कार्यक्रममा किन नजाने ?”