भक्तपुरको बिस्का जात्रा : सांस्कृतिक संरक्षणसँगै पर्यटन प्रवर्द्धनको माध्यम

10
  • मनिषा बस्नेत

काठमाडौँ, २७ चैत । भक्तपुर तथा मध्यपुर थिमी क्षेत्रमा मनाइने ऐतिहासिक बिस्का जात्राको रमझम सुरू भएको छ । नौ दिन आठ रातसम्म चल्ने जात्रा धार्मिक, सांस्कृतिक र सामाजिक रूपमा अत्यन्तै महत्त्वपूर्ण मानिन्छ ।

भक्तपुरको आकाशमा जब ५५ हात लामो ‘ल्योसिं’ (लिङ्गो) ठडिन्छ, तब यहाँका गल्लीहरूमा नयाँ वर्षको उत्साह मात्र होइन, प्राचीन सभ्यताको सुगन्ध पनि फैलिन्छ । सौर्यमान (सौर मास) आधारमा मनाइने बिस्का जात्रा भक्तपुर र मध्यपुर थिमिको यस्तो उत्सव हो, जहाँ देवता र मानवबिचको सम्बन्धलाई रथयात्रा, तान्त्रिक पूजा र सामूहिक शक्तिमार्फत प्रस्तुत गरिन्छ ।

स्थानीय पर्यटन व्यवसायी राम सुन्दर भेलेका अनुसार जात्रा भक्तपुरको एउटा ठुलो उत्सव मात्र नभएर यहाँको जीवनशैली र सानको प्रतीक पनि हो । विशेषगरी भैरवनाथको रथयात्राबाट सुरू हुने जात्रा चैत २७ गतेदेखि वैशाख ५ गतेसम्म मनाइन्छ । रथ तानेर टमडी क्षेत्रमा पुर्‍याएपछि जात्रा प्रारम्भ हुन्छ भने ल्यासिङखेलमा लिङ्गो ‘ल्योसिं’ उठाउने र ढाल्ने प्रक्रिया यसको मुख्य आकर्षण हो ।

स्थानीय तहका अनुसार जात्राको तयारी पूरा भइसकेको छ र सुरक्षा, व्यवस्थापन तथा सरसफाइमा विशेष ध्यान दिइएको छ । स्थानीय भेलेले बिस्का जात्रा केवल रथ तान्ने पर्व मात्र नभई समग्र सांस्कृतिक जीवनसँग जोडिएको बताउनुभयो ।

उहाँले भन्नुभयो, “बिस्का जात्रा भनेको रथ तान्ने मात्र होइन संस्कृति, परम्परा र सामाजिक जिम्मेवारीसँग जोडिएको ठुलो उत्सव हो । ९ दिन ८ रातसम्म चल्ने जात्रामा सबै जातजाति र समुदायको सहभागिता हुन्छ । कसैले पूजा गर्छन्, कसैले रथ तान्छन, कसैले व्यवस्थापन गर्छन् । सबैको आ–आफ्नो भूमिका हुन्छ ।”

उहाँले ल्यासिङखेलमा लिङ्गो उठाउने र ढाल्ने प्रक्रियाले शक्ति, एकता र परम्पराको प्रतीक झल्काउने बताउनुभयो । “लिङ्गो उठाउने र ढाल्ने क्षण निकै रोमाञ्चक हुन्छ । मानिसहरूबिचको सहकार्य र उत्साहले जात्रालाई अझ विशेष बनाएको छ,” उहाँले भन्नुभयो ।

बिस्का जात्रासँग विभिन्न किंवदन्तीहरू जोडिएका छन् । एक जनविश्वास अनुसार काशीबाट आएका भैरवलाई भक्तपुरमा स्थापन गर्ने क्रममा उनी जमिनभित्र विलीन भएका र शिर मात्र यहाँ रहेको मानिन्छ । त्यसैले भक्तपुरमा भैरवको विशेष महत्त्व रहेको मानिन्छ । जात्राका क्रममा २८–२९ गते कन्फटा जोगीहरूद्वारा बलि दिने परम्पराले पनि प्राचीन सांस्कृतिक सम्बन्धलाई झल्काउँछ ।

जात्राको मुख्य तालिकाहरु २७ गते–रथ तान्ने र गाइती क्षेत्रमा राख्ने, २९ गते स्याकोट्या सुरू गरी बलि दिने, ३० गते रथ तानेर लिङ्गो उठाउने, ३१ गते लिङ्गो ढाल्ने र भैरव–भद्रकाली रथ जुधाउने, ४ गते विशेष पूजा तथा सगुन वितरण गर्ने र ५ गते अन्तिम रथयात्रा गरी जात्रा समापन गरिन्छ ।

यस अवधिमा इन्द्रायणी, महालक्ष्मी, महाकाली, ब्रह्मायणी लगायत विभिन्न देवीदेवताका जात्राहरू पनि समानान्तर रूपमा सञ्चालन हुन्छन् ।

बिस्का जात्राले आन्तरिक तथा बाह्य पर्यटनमा ठुलो योगदान पुर्‍याउँदै आएको छ । जात्राका बेला भक्तपुरमा स्वदेशी तथा विदेशी पर्यटकहरूको उल्लेखनीय भीड लाग्ने गर्दछ ।

काठबाट बनेको विशाल रथ, मानव शक्तिबाट तानिने प्रतिस्पर्धात्मक शैली र सामूहिक सहभागिताले पर्यटकलाई विशेष आकर्षित गर्ने गरेको छ । भेलेका अनुसार रथ तान्ने क्रममा देखिने उत्साह र शक्ति प्रदर्शन अन्यन्त दुर्लभ अनुभव हो, जसका कारण धेरै पर्यटक हरेक वर्ष पुनः आउने गरेका छन् ।

बिस्का जात्रा केवल पर्व मात्र नभइ नेवार समूदायको जीवन्त इतिहास र कलाको प्रदर्शन पनि हो । यसको संरक्षण गर्नु सबैको दायित्व हो ।

यस्तै, मध्यपुर थिमी नगरपालिकामा मनाइने ऐतिहासिक बिस्का जात्रा भने भक्तपुरमा भन्दा केही ढिलो सुरू हुन्छ । मध्यपुर थिमीमा चैत्र ३० गतेदेखि सुरू हुने जात्राको तयारी अन्तिम चरणमा पुगेको नगरप्रमुख सुरेन्द्र श्रेष्ठले जानकारी दिनुभयो ।

नगरपालिकाले प्रशासन, स्थानीय संघसंस्था तथा सरोकारवाला निकायसँग समन्वय गर्दै जात्रालाई व्यवस्थित र सुरक्षित रूपमा सञ्चालन गर्ने तयारी गरेको जनाएको छ । नगरप्रमुख श्रेष्ठका अनुसार बिस्का जात्रालाई लक्षित गरी जिल्ला प्रशासन, जनप्रतिनिधि तथा परम्परागत रूपमा जात्रा सञ्चालन गर्ने गुठी संस्थाहरूसँग छलफल सम्पन्न भइसकेको छ ।

“बिस्का जात्राको तयारी अहिले अन्तिम चरणमा पुगेको छ । हामीले जिल्ला प्रशासन, संघसंस्था र जात्रा सञ्चालन गर्ने नेतृत्वसँग छलफल गरेर सम्भावित घटनाहरू रोकथाम गर्न आवश्यक सबै जिम्मेवारी बाँडफाँड गरिसकेका छौँ,” उहाँले भन्नुभयो ।

उहाँले जात्रालाई शान्तिपूर्ण रूपमा सञ्चालन गर्न विशेष ध्यान दिइएको बताउनुभयो । “मध्यपुर थिमीमा बिस्का जात्रा अत्यन्त सभ्य र शान्तिपूर्ण रूपमा सञ्चालन हुन्छ । झैझगडा हुने अवस्था कम हुन्छ, भए पनि स्थानीयले नै मिलाउने परम्परा छ,” उहाँले भन्नुभयो ।

नगरपालिकाले सम्भावित अवाञ्छित गतिविधि रोक्न विशेष निर्णयसमेत गरेको छ । “जात्राको समयमा खुला रूपमा मदिरा बिक्रीवितरण नगर्ने निर्णय गरेका छौँ । यसको पालना गर्न सबै नगरबासीलाई आह्वान गरेका छौँ,” उहाँले भन्नुभयो ।

मध्यपुर थिमी नगरपालिकाले जात्रालाई लक्ष्यित गर्दै ‘गन्तव्य मध्यपुर’ कार्यक्रम गर्ने भएको छ । जात्राको पूर्वसन्ध्यामा २८ र २९ गते ‘गन्तव्य मध्यपुर’ कार्यक्रम आयोजना गरिने नगरप्रमुख श्रेष्ठले बताउनुभयो । उहाँले भन्नुभयो, “२८ र २९ गते काठमाडौँ उपत्यकाव्यापी खुल्ला धिमेबाजा प्रतियोगिता, सांस्कृतिक कार्यक्रम र स्थानीय उत्पादन प्रवर्द्धनका लागि ४०–५० वटा स्टल राख्ने तयारी गरेका छौँ ।”

उहाँका अनुसार उक्त कार्यक्रमले ३० गतेदेखि सुरू हुने बिस्का जात्रालाई थप प्रवर्द्धन गर्ने छ । नगरप्रमुख श्रेष्ठले मध्यपुर थिमीलाई ऐतिहासिक सहरका रूपमा पर्यटन विकाससँग जोड्ने लक्ष्य रहेको बताउनुभो । उहाँले भन्नुभयो, “गत वर्ष मध्यपुर महोत्सव आयोजना गरेका थियौँ । अब ‘गन्तव्य मध्यपुर’मार्फत पर्यटन प्रवर्द्धनलाई अझ अगाडि बढाउने योजना छ।”

उहाँले पछिल्ला वर्षहरूमा नगरको सरसफाइमा उल्लेख्य सुधार भएको पनि बताउनुभयो । “स्थानीय र निजी क्षेत्रको सहयोगमा नगरमा सरसफाइको अवस्था राम्रो भएको छ । जात्राका बेला अझ व्यवस्थित बनाउन विशेष पहल भइरहेको छ,” उहाँले भन्नुभयो ।

नगरपालिकाले बिस्का जात्रा मात्र नभइ अन्य सांस्कृतिक सम्पदाको संरक्षणमा पनि काम गरिरहेको जनाएको छ । “विगतमा सञ्चालन हुन छाडेका सांस्कृतिक नाच र परम्पराहरूलाई पुनः संरक्षण गरेका छौँ । मूर्त र अमूर्त सम्पदाको जगेर्ना हाम्रो प्राथमिकता हो,” नगरप्रमुख श्रेष्ठले भन्नुभयो ।

मध्यपुर थिमीमा बिस्का जात्रालाई सुरक्षित, व्यवस्थित र आकर्षक बनाउन व्यापक तयारी गरिएको छ । यस वर्षको जात्राले सांस्कृतिक संरक्षणसँगै पर्यटन प्रवर्द्धनमा समेत महत्त्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ । –नेपाल न्युज बैङ्क

Share This:
सम्बन्धित खबर
Loading...