काठमाडौँ, २६ चैत । नेपाली चलचित्र क्षेत्रकी सफल अभिनेत्री तथा निर्देशक झरना थापा र उहाँकी छोरी अभिनेत्री सुहाना थापा पहिलो पटक एउटै चलचित्रमा देखिने हुनुभएको छ । सङ्गीतकारको रूपमा स्थापित हरि लम्सालको डेब्यु निर्देशन रहने चलचित्र ‘बाः एक योद्धा’मा यी चर्चित आमा–छोरीको मुख्य भूमिका रहने पक्का भएको हो ।
विगत दुई सातादेखि छायाङ्कन भइरहेको यस चलचित्रको निर्माण पक्षले कलाकारहरूको नाम गोप्य राखेको थियो । यतिबेला काठमाडौँका विभिन्न स्थानमा चलचित्रको धमाधम छायांकन भइरहेको छ र झरना–सुहानाले सेटमा एकसाथ टेक दिइरहेका छन् ।
गत चैत्र ९ गते काठमाडौँस्थित पशुपतिनाथ मन्दिर परिसरमा स्क्रिप्ट र क्यामेरा पूजा गर्दै चलचित्रको छायाङ्कन सुरू गरिएको थियो । ‘आर्टिस्टिक इन्टरटेनमेन्ट’को ब्यानरमा निर्माण भइरहेको यो चलचित्रले नेपाली समाजको एउटा अत्यन्तै मार्मिक र यथार्थपरक कथालाई समेट्ने प्रयास गरेको छ ।
सङ्गीत र पाश्र्व गायनमा दर्जनौँ गीतहरू दिइसकेका चर्चित सङ्गीतकार हरि लम्साल यसै चलचित्रमार्फत निर्देशकको रूपमा डेब्यु गर्दै हुनुहुन्छ । लम्सालले निर्देशन मात्र नभइ चलचित्रको कथा र पटकथा समेत आफैँले तयार पार्नुभएको हो । सङ्गीतिक क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाइसकेका लम्सालको निर्देशकीय क्षमता र दृष्टिकोण कस्तो रहने छ भन्नेमा प्रतीक्षा रहेको छ ।
चलचित्रको शीर्षकले नै सङ्केत गरेझैँ, यो सिनेमाले नेपाली परिवारमा ‘बुवा’को महत्त्व र उनको अस्तित्वलाई दर्शाउने छ । एउटा बाबुले आफ्नो सन्तानको भविष्य उज्ज्वल बनाउनका लागि गर्ने अथक त्याग, जीवनभर झेल्ने चुनौती र सङ्घर्षलाई चलचित्रमा ‘योद्धा’को रूपमा चित्रण गरिएको छ।ग्रामीण परिवेशदेखि सहरी समाजसम्मका एउटा बाबुले आफ्नो काँधमा बोक्ने जिम्मेवारी र भावनात्मक सम्बन्धको कथालाई यो चलचित्रले पर्दामा उतार्ने लक्ष्य राखेको छ ।
निर्माण टिमका अनुसार यो एक शुद्ध सामाजिक र भावनात्मक मनोरञ्जनात्मक सिनेमा हुने छ । यस चलचित्रका निर्माता वसन्त लम्साल हुनुहुन्छ । गायक तथा सर्जक समेत रहेका लम्सालले यसअघि अभिनेता विपिन कार्कीलाई लिएर चलचित्र ‘कर्मा निर्माण गर्नुभएको थियो ।
शिवराम श्रेष्ठको सिनेमाटोग्राफी रहने चलचित्रको मुख्य सहायक निर्देशकमा तारा नाथ न्यौपाने रहनुभएको छ । चलचित्रको छायाङ्कनको सम्पूर्ण कार्य सकिएपछि मात्र प्राविधिक पक्षको काम हेरेर प्रदर्शन मिति घोषणा गरिने निर्माण पक्षले जनाएको छ ।