काङ्ग्रेसले अब सङ्ख्याभन्दा प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिन्छ : सभापति थापा

1

धनुषा, २६ चैत । नेपाली काङ्ग्रेसका सभापति गगन कुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बताउनुभएको छ ।

बुधबार जनकपुरधाममा आयोजित काङ्ग्रेसको मधेस प्रदेशस्तरीय निर्वाचन समीक्षा कार्यक्रममा उहाँले पार्टीभित्र शुद्धिकरण अभियान सञ्चालन गरिने र कम सङ्ख्यामा भए पनि जिम्मेवार कार्यकर्ताको बलमा सङ्गठन सुदृढ बनाइने बताउनुभयो । सभापति थापाले भन्नुभयो, “अब सङ्ख्या वा क्रियाशील सदस्यको भीड होइन, निष्ठावान् कार्यकर्ताको आवश्यकता छ । पार्टीले सोहीअनुसार नीति बनाएर अगाडि बढ्छ ।”

उहाँले वैशाख १ गतेदेखि क्रियाशील सदस्यताको अध्यावधिक प्रक्रिया सुरू गरिने जानकारी दिँदै त्यसपछि देशव्यापी रूपमा शुद्धीकरण अभियान अघि बढाइने उल्लेख गर्नुभयो । समस्याको बेला पार्टीको हितमा नलाग्ने १० लाख सदस्यभन्दा एक लाख प्रतिबद्ध सदस्य भए पनि सङ्गठन थप चलायमान हुने सभापति थापाको भनाइ थियो ।

उहाँले भन्नुभयो, “पार्टीलाई एकताबद्ध, अनुशासित र नीति–सिद्धान्तमा आधारित बनाउँदै देशभर नयाँ ऊर्जा सिर्जना गरिने छ । कांग्रेसलाई जनतासँग अझ नजिक बनाउँदै विश्वास जित्ने दिशामा अघि बढ्ने छौँ ।”

सभापति थापाले प्रतिनिधिसभा निर्वाचनको परिणामबारे समीक्षा आवश्यक रहेको उल्लेख गर्दै वर्तमान अवस्था काङ्ग्रेसको इतिहासमै चुनौतीपूर्ण रहेको र यसबाट सिक्दै अघि बढ्नुपर्ने आवश्यकता औँल्याउनुभयो । उहाँले १५औँ महाधिवेशन सफल बनाउने जिम्मेवारी आफूले लिने पनि बताउनुभयो ।

सहमहामन्त्री फरमुल्ला मन्सुरको अध्यक्षता भएको कार्यक्रममा मधेस प्रदेश सभापति तथा मुख्यमन्त्री कृष्णप्रसाद यादवले कार्यकर्तालाई निराश नहुन आग्रह गर्नुभयो ।

कार्यक्रममा उपसभापति पुष्पा भुसाल, महामन्त्री गुरुराज घिमिरे, सहमहामन्त्रीहरू डिला सङ्ग्रौला, मुक्ता यादवलगायत प्रदेशका आठै जिल्लाका प्रतिनिधि नेता तथा कार्यकर्ताको सहभागितामा रहेको थियो ।

Share This:
सम्बन्धित खबर
Loading...