विराटनगर, २५ चैत । आगामी चैत्र ३० गतेदेखि सुनसरीको इटहरीमा आयोजना हुन लागेको १६औँ अन्तर्राष्ट्रिय आमन्त्रण ‘रेडबुल इटहरी गोल्डकप’ फुटबल प्रतियोगिताका विजेताले १० लाख रुपैयाँ नगदसँगै ६० तोला चाँदी र ६ आना सुन जडित विशेष ट्रफी प्राप्त गर्ने भएका छन् ।
राष्ट्रिय जागृति क्लबको आयोजनामा हुने प्रतियोगताका बारेमा बुधबार पत्रकार सम्मेलनमार्फत प्रतियोगिताको तयारी र पुरस्कार संरचनाबारे समेत जानकारी गराइएको हो ।
प्रतियोगिता आगामी चैत ३० गतेदेखि सुरु भइ २०८३ साल वैशाख ७ गतेसम्म सञ्चालन हुने छ ।
खेल संयोजक अनुरोध थापाका अनुसार उपविजेताले ५ लाख रुपैयाँ प्राप्त गर्नेछन् भने सर्वोत्कृष्ट खेलाडीलाई १ लाख रुपैयाँ प्रदान गरिने छ । प्रत्येक खेलको ‘म्यान अफ द म्याच’लाई १० हजार रुपैयाँ दिइने छ ।
यस्तै, उत्कृष्ट गोलरक्षक, डिफेन्डर, मिडफिल्डर, स्ट्राइकर र प्रशिक्षकलाई जनही २० हजार रुपैयाँ तथा सर्वाधिक गोलकर्तालाई २५ हजार रुपैयाँ पुरस्कार प्रदान गरिने छ ।
आयोजकका अनुसार अघिल्लो संस्करणमा ४९ लाख ३० हजार रुपैयाँ सङ्कलन भएकोमा २ लाख १० हजार रुपैयाँ बचत गर्न सफल भएको थियो । यस वर्ष भने करिब ८८ लाख ५० हजार रुपैयाँ खर्च हुने अनुमान गरिएको छ ।
प्रतियोगितामा नेपाल र विदेशका गरी ८ टोली सहभागी हुने छन् । सहभागी टोलीमा मच्छिन्द्र फुटबल क्लब, प्लानिङ ब्वाइज क्लब, झापा–११, सातदोबाटो फुटबल क्लब, यूवा समाज मोरङ, आयोजक राष्ट्रिय जागृति क्लब, युके एफसी भारत र जस्ट जोन फुटबल क्लब नाइजेरिया रहेका छन् ।
इटहरी रङ्गशालामा सञ्चालन हुने प्रतियोगिताको उद्घाटन चैत ३० गते हुने छ भने फाइनल खेल वैशाख ७ गते हुने छ । रात्रिकालीन खेललाई लक्षित गर्दै रङ्गशालामा अस्थायी प्यारापिट निर्माणसहित तयारी तीव्र पारिएको थापाले जानकारी दिनुभयो ।
आयोजकले फुटबल प्रतियोगिताले खेलकुद मात्र नभइ कोशी प्रदेशकै पर्यटन प्रवर्द्धनमा समेत महत्त्वपूर्ण टेवा पुग्ने विश्वास व्यक्त गरेको छ ।
प्रतियोगिताको संयोजन इटहरी उपमहानगरपालिकाले गरेको छ भने संरक्षकका रूपमा कोशी प्रदेश सरकारअन्तर्गत पर्यटन, वन तथा वातावरण मन्त्रालय, कोशी प्रदेश खेलकुद विकास बोर्ड र राष्ट्रिय खेलकुद परिषद् रहेका छन् ।
विसं. २०२३ सालमा स्थापना भएको राष्ट्रिय जागृति क्लबले विगतमा स्व.दानबहादुर फुयाँल गोल्डकप, इटहरी गोल्डकप तथा मदन भण्डारी मेमोरियल इटहरी गोल्डकपजस्ता प्रतियोगिता आयोजना गर्दै आएको छ । पछिल्ला वर्षहरूमा क्लबले अन्तर्राष्ट्रियस्तरको इटहरी गोल्डकपलाई निरन्तरता दिँदै आएको जनाएको छ । प्रतियोगिताको मुख्य प्रायोजक रेडबुल रहेको छ ।