काठमाडौँ, २४ चैत । राष्ट्रिय सभाको नवनियुक्त उपाध्यक्ष लिला कुमारी भण्डारीले पदभार ग्रहण गर्नुभएको छ । मङ्गलबार राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित एक समारोहबिच अध्यक्ष नारायणप्रसाद दाहालबाट शपथग्रहण गरेलगत्तै उनले सिंहदरबार पुगेर पदभार ग्रहण गर्नुभएको हो ।
पदभार ग्रहणपछि सञ्चारकर्मीहरुसँको कुराकानी उहाँले साइबर बुलिङसम्बन्धी छुट्टै कानुन निर्माण गर्न आवश्यक रहेको बताउनुभयो ।
महिलालाई समाजमा बाच्नै नसक्नेगरी हतियारको रुपमा सामाजिक सञ्जालको नकारात्मक रुपमा प्रयोग भएको भन्दै उहाँले मर्यादित समाज बनाउनका लागि पनि साइबर बुलिङसम्बन्धी छुट्टै कानुन निर्माण गर्न आवश्यक रहेको बताउनुभयो ।
उहाँले भन्नुभयो, “समाजमा बाँच्नै नसक्नेगरी अहिलेको अर्को हतियार नकारात्मक रुपमा महिलाहरुमाथि प्रयोग भएको छ । महिलाको जीवन सिध्याउन उसको चरित्रमाथि प्रश्न गरिदिए पुग्छ । यो साइबर बुलिङसम्बन्धी कानुन नै बनाएर जुन अपराधिक क्रियाकलाप भइरहेको छ त्यसको लागि सरकाले चाँडै सोच्ने छ । मर्यादित समाज बनाउने हो भने यससम्बन्धी कानुन नै बनाउनुपर्छ जस्तो लाग्छ ।”
त्यस्तै, राष्ट्रिय सभाको काम कारबाहीलाई सहजिकरण गर्ने, अध्यक्षलाई सहयोग गर्ने, सभालाई शसक्त र मर्यादित सभा बनाउन आफ्नो भूमिका रहने उहाँले जानकारी दिनुभयो । सभाको गरिमालाई मध्यनजर गरेर अनुशासितपूर्वक काम कारबाही अगाडि बढाउने विशेष योगदान आफ्नो हुने उहाँले जानकारी दिनुभयो ।
“राष्ट्रिय सभाको काम कारबाहीलाई सहजीकरण गर्ने, अध्यक्षलाई सहयोग गर्ने, सभालाई सशक्त, मर्यादित सभाको आफ्नो कर्तव्यतिर सहयोग गर्न मेरो आफ्नो भूमिका हुनेछ । सभाको गरिमालाई मध्यनजर गरेर अनुशासित पूर्वक अध्यक्षपछि मैले काम कारबाही अगाडि बढाउने विशेष योगदान हुने छ,” उहाँले भन्नुभयो ।