श्रवण क्षमता नभएर रोकेन अृमत र हेमराज ‘रेष्टुरेन्ट’ सञ्चालन गर्न

9

म्याग्दी, २३ चैत । म्याग्दीको बेनी नगरपालिका–४ सिंगाको पौडेल चोकमा श्रवण क्षमता नभएका अमृत र हेमराज शर्मा ‘रेष्टुरेन्ट’ व्यवसाय सञ्चालन गरेर आत्मनिर्भर बन्नुभएको छ ।

बागलुङका ३५ वर्षीय अमृत र ४२ वर्षीय हेमराजले शारिरिक अशक्तताले रोजगारी, व्यवसाय र अवसरलाई छेक्न सक्दैन भन्ने उदाहरण प्रस्तुत गर्नुभएको हो । नाताले आफन्त पर्ने अमृत र हेमराजले सिंगाको पौडेल चोकमा संयुक्त रुपमा सञ्चालन गरेको ‘सांकेतिक भाषा खाजा घर’ले उनिहरुलाई स्वरोजगार र आत्मनिर्भर बनाएको हो ।

जन्मजात श्रवण क्षमता नभएका शर्माद्धय सांकेतिक भाषा र शब्द लेखेर उपभोक्ताहरुसँग सम्बाद गर्नुहुन्छ । चिया, खाजा, जेरी, तरकारी, याममा अरिंगाल, माछा, मासु र खानाका परिकार उहाँहरु आफै तयार पार्नुहुन्छ ।

स्थानीयबासी, वडा कार्यालय, विद्यालय, बेनी–दरवाङ सडकको यात्रा गर्ने सर्वसाधारण, ब्यवसायीहरु उक्त रेष्टुरेष्टका ग्राहक हुन् । टाढाबाट आउने ग्राहकहरुले मोवाइलमा सन्देश पठाएर खाना, खाजाका परिकार ‘अर्डर’ गर्छन् । सामाजिक सञ्जालमा भिडियो कल गरेर पनि सांकेतिक भाषामा ग्राहकले कुराकानी गर्छन् ।

फोन आयो भने छिमेकीलाई उठाउन लगाएर उहाँहरूमार्फत सूचना लिने गरेको अमृतले लेखेर जानकारी गराउनुभयो । म्याग्दीका जलविद्युत आयोजनाहरुमा परामर्शदाताको रुपमा काम गर्दै आउनुभएका शंकर बस्यालले सरसफाई र आत्मीय व्यवहारका कारण सांकेतिक भाषा खाजा घरलाई रोजेको बताउनुभयो । “उहाँहरु नबोले पनि ग्राहकको भावना बुझेर नम्र व्यवहार गर्नुहुन्छ,” उहाँले भन्नुभयो “ठाउँको सरसफाइ र परिकार हाइजेनिक हुने भएकाले राम्रो लाग्छ ।”

दैनिक पाँच हजारको हाराहारीमा व्यापार गर्ने शर्माद्वयले उक्त आम्दानीबाट व्यवसायलाई निरन्तरताका साथै घरव्यवहार चलाएको बताउनुभयो । दसै तिहार र चाडपर्वको समयमा व्यापार अली बढी हुन्छ ।

हेमराजको घरमा श्रीमती र एक छोरी छन् । अमृतकी श्रीमतीको पनि श्रवण क्षमता छैन । अमृतका घरमा श्रीमती र एक छोरा छन् । हेमराजले कक्षा ५ सम्मको अध्ययन गर्नुभएको छ भने अमृतले १२ कक्षा उत्तीर्ण गर्नुभएको छ । उहाँहरुका परिवार बागलुङमै बस्नुहुन्छ ।

धवलागिरी माविको बहिरा स्रोत कक्षाका शिक्षक शंकर पाण्डेको सहयोगमा हेमराज र अमृत १० वर्षअघि सिंगामा आउनुभएको थियो । शर्माद्वयको सानैदेखि खानाका परिकार बनाउन रुची थियो । घारबाट तीन लाख रूपैयाँ ल्याएर घर भाडामा लिएर व्यवसाय सुरू गरेको अमृत सम्झनुहुन्छ । हाल उहाँहरुको व्यवसायमा करिब १० लाख रूपैयाँको लगानी छ ।

सिप र व्यवसायमा आवद्ध भएकाले घरव्यवहार चलाउन सहज भएको शर्माद्वयको अनुभव छ । पौडेलचोकका यादवप्रसाद पौडेलले अमृत र हेमराजले हातमा सिप र व्यवसायिक कला तथा साहास हुने हो भने शारीरिक प्रतिकुलताका बाबजुद आत्मनिर्भर र स्वरोजगार बन्न सकिने सन्देश दिएका बताउनुभयो ।

“अमृत र हेमराजले हातमा भएको सीपको सदुपयोग गर्न जान्ने हो भने जीवन चलाउन अरुमा निर्भर हुनु पर्दैन भन्ने सन्देश दिनुभएको छ,” उहाँले भन्नुभयो “उहाँहरुले व्यवसायबाट हासिल गरेको सफलताबाट धेरैका लागि उदाहरणीय बन्न सक्छ ।”

हाल भाडाको घरमा व्यवसाय गर्दै आएका उहाँहरुले व्यवसाय विस्तार गर्दै लैजाने योजना बनाउनुभएको छ । पुँजीको अभाव र सबै ग्राहकहरुले सांकेतिक भाषा नबुझ्नु उहाँहरुको लागि व्यवसायमा चुनौती बनेको छ । –रासस

Share This:
सम्बन्धित खबर
Loading...