खुला आकाशमुनिको ‘ट्युसन’ कक्षा

16
  • सङ्गीता राई

धरान, १९ चैत । पिपलको छहारीमुनि विछच्याइएका छन् प्लास्टिकका म्याट र बोरा । पिपलको रूखमा अड्याइएको बोर्डमा लेखिएको छ,‘श्री पिपलबोटे खुला विद्यालय’ । जहाँ नर्सरीदेखि कक्षा ७ सम्म पढ्ने ३०÷३५ जना बालबालिका दिनहुँ बिहान ७ बजे किताब, कापी र कलम च्यापेर ट्युसन (अध्यापन कक्षा) पढ्न आइपुग्छन् । चन्द्र सर अर्थात् चन्द्र भण्डारीले ती बालबालिकालाई लेखपढमा सहायता गर्नुहुन्छ । विद्यालयमा पढ्दा नबुझेका पाठहरु बुझाउनुहुन्छ । गृहकार्य गर्न सहजीकरण गर्नुहुन्छ । यो दृश्य हो, इटहरीको व्यस्त सडक पूर्व–पश्चिम राजमार्ग पर्ने इटहरीस्थित टेङ्ग्रा खोलाको किनार छेवैको गल्ली ।

नाम जस्तै यस खुला आकाशमुनि पठनपाठन सञ्चालन हुन थालेको तीन दशक बढी भइसकेको छ । पिपलको रूखमुनि निरन्तर सिकाई गतिविधि सञ्चालन गर्दै आएको हुनाले ‘पिपलबोटे खुल्ला विद्यालय’ नाम दिइएको छ । तर, यो दर्ता गरिएको औपचारिक विद्यालय वा शैक्षिक केन्द्र भने हुँदै होइन, भण्डारीको व्यक्तिगत पहल, अदम्य इच्छाशक्ति र समर्पणले गर्दा निरन्तरता पाएको शैक्षिक अभियान हो । उहाँले विपन्न, गरिब तथा सीमान्तकृत समुदायका बालबालिकालाई निःशुल्क शिक्षा प्रदान गर्दै आउनु भएको योगदानस्वरुप छरछिमेकमा सबैले ‘चन्द्र सर’ को उपमा दिएका छन् ।

सङ्घर्षले सिकाएको सेवाभाव
सुनसरीको छिमेकी जिल्ला धनकुटाको कागते–६ मा बुबा श्रीकान्त भण्डारी र आमा मनमाया भण्डारीको कोखबाट २०२२ सालमा जन्मिनुभएका चन्द्र भण्डारी चार सन्तानमध्ये कान्छा छोरा हुनुहुन्छ । सामान्य परिवारमा जन्मिएर हुर्किनुभएका उहाँले बाल्यकालमै अभाव र सङ्घर्ष झेल्नुभयो । गुजाराको खोजीमा आमाबाट ५० रूपैयाँ खर्च लिएर उहाँ २०४४ सालमा इटहरी झर्नुभएको थियो ।

इटहरीमा दाजु आफन्त पर्नेहरुसँग ग्यारेजमा मेसिन बनाउने काम थाल्नुभयो । केही समयपछि एक साथीसँग मिलेर हटिया बजारमा थानको कपडाको व्यापार गर्नुभयो । तर, करिब छ महिनामै त्यो व्यापार बन्द भयो । कपडा व्यापारमा सफलता नमिलेपछि बाँसको व्यापारमा लाग्नुभयो । २०५१ सालदेखि उहाँले टेङ्ग्राखोला नजिकै बाँसको व्यापार सुरू गर्नुभएको थियो । धरानको पानमारा, मोरङको केराबारी र धनकुटाबाट त्यसबेला २० देखि २३ रुपैयाँमा किनिएको बाँस २५ रूपैयाँमा बिक्री हुने गथ्र्यो दुई रुपैयाँ नाफा हुन्थ्यो । बाँस खरिद गरेर सुनसरीका विभिन्न स्थान शान्तिझोडा, तरहरा, इटहरीलगायतका ठाउँमा बिक्री गर्दै उहाँले आफ्नो व्यवसाय विस्तार गर्नुभयो ।

यही क्रममा स्कुल जाने उमेरका बालबालिका बाँसका चाङ वरिपरि धुलोमाटोमा खेल्दै गरेको भण्डारीले देख्नुभयो । “उनीहरुका बाआमालाई छोराछोरी पढाउनुपर्छ भन्ने चेतना सायदै थियो,” उहाँ सम्झनुहुन्छ, “मलाई भने गरिबी र अभावले पढाइ अधुरै छाड्नुपरेको बाल्यकालको झल्को आयो ।” यसपछि उहाँले बालबालिकालाई भेला गरेर पढाउने निधो गर्नुभयो । सुरूमा उहाँले त्यहाँ आउने १० जना बालबालिकालाई भेला गरेर बिहान र बेलुका दुईदेखि तीन घन्टा निःशुल्क ट्युसन पढाउन सुरू गर्नुभयो । मलाई लाग्थ्यो बालबालिकालाई ‘अक्षर चिनाएपछि स्कुल जाने बाटो पक्कै खुल्छ, यही बाँसको व्यापारले जीवनको सबैभन्दा ठुलो उद्देश्य पनि देखायो अनि बालबालिकाको पीडाले खुला विद्यालय पनि जन्मियो ।

विपन्न परिवारका बालबालिकालाई भरोसा
उहाँको यो प्रयास विस्तारै फैलिँदै गयो । स्थानीय समुदायमा चर्चा बढ्दै जाँदा विद्यार्थी थपिँदै गए पहिला खोला किनारमा सानो कटेज जस्तो टहरो थियो त्यही टहरोमा बालबालिकालाई राखेर ट्युसन पढाउने चाजोपाजो मिलाइएको थियो । बिहानबेलुका गरी ४० देखि ५० जना बालबालिका पढ्न आउँथे तर २०६० सालमा उक्त कटेज भत्किएपछि उहाँले कक्षा खुला आकाशमुनि नै पढाउदै आउनुभएको छ । भण्डारी सम्झनुहुन्छ, “कटेज भत्किए पनि बालबालिकामा पढ्ने चाहना थियोे, उनीहरुले घरबाट बोरा ल्याएर भुइँमा बिछ्याएर सिकाइ माग्न थाले ।” सुविधा केही थिएन तर पढ्ने चाहना देखिन्थ्योे, उहाँ सम्झनुहुन्छ ।

बर्खामासको भेलबाढी होस् वा हिउँद्को सुख्खा खडेरी, टेङ्ग्रा खोलाको धमिलो पानी, बर्खामा आउने बाढी, कहिले सुक्खा यी सबै चुनौतीबीच पनि चन्द्र भण्डारीको ट्युसन कहिल्यै रोकिएन । न कहिल्यै अवरोधले रोकेको छ, न कहिल्यै उहाँलाई अल्छी नै लागेको छ । बालबालिकालाई ट्युसन पढाउन छोड्नुभएन । कोभिड–१९ महामारीका बेला देशभर बन्दाबन्दी चल्दासमेत उहाँले हार भने मान्नुभएन घरबाटै अनलाइन कक्षा सञ्चालन गर्नुभएको थियो । कोभिड–१९ पछि विद्यार्थी घट्दै गए अहिले उहाँले दैनिक ३० देखि ३५ जना बालबालिकालाई नियमित ट्युसन पढाउदै आउनुभएको बताउनुभयो ।

विपन्न परिवारका बालबालिकाका लागि विद्यालयको शिक्षाको अलवा थप सिक्ने अवसरको केन्द्र बनेको छ । यहाँ आउने अधिकांश बालबालिका मकै पोलेर बेच्ने, बदाम बेच्ने, जुत्ता पालिस गर्ने, रिक्सा चलाउने जस्ता श्रमिक परिवारका छोराछोरीहरु छन् । मध्यम र उच्च वर्गका केही बालबालिका पनि यहाँ पढ्छन् ।

भण्डारी ट्युसन पढाउने मात्रै सीमित हुनुहुन्न । उहाँले जन्मदिनको अवसर पारेर पढ्न आउने बालबालिकालाई कापी, कलम र पुस्तक उपहार दिने गर्नुहुन्छ । कतिपय सहयोगी हातहरु पनि शैक्षिक सामग्री र लत्ताकपडाको सहायता लिएर आइपुग्ने गर्छन् । सिकाइको अतिरिक्त शैक्षिक सामग्री तथा लत्ताकपडा उपहार र सहायताले बालबालिकालाई हौसला थप्ने गरेको छ । भण्डारीलाई बालबालिकालाई सिकाउने व्यवस्थित ठाउँको अभाव खड्किरहेको छ । उहाँ भन्नुहुन्छ, “घामपानी छल्ने एउटा व्यवस्थित स्थानमा राखेर पढाउन पाए अझ राम्रो हुन्थ्यो ।”

सेवाको कदर
भण्डारीको स्वतस्फूर्त सेवाभावको कदर गर्दै झन्डै हजारौँ सङ्घसंस्थाले सम्मान गरेका छन् । झापा दमकको ‘पढ्ने घर’ संस्थाले २०७१ सालमा पहिलोपटक सम्मान गरेको थियो । त्यसपछि विभिन्न सङ्घसंस्था, विद्यालय र कलेजबाट दर्जनौँ सम्मान र अवार्ड प्राप्त गरिसक्नु भएको छ । दीर्घकालीन सेवाको कदर गर्दै भण्डारीलाई प्रतिष्ठित ‘युएसए–नेपाल ह्युमानिटेरियन सर्भिस अवार्ड २०१७’ प्रदान गरिएको थियो । विपन्न वर्गका बालबालिकालाई लक्षित गरी निःशुल्क ट्युसन शिक्षणमार्फत पुर्‍याएको योगदानको कदर गर्दै २०७२ सालमा इटहरीस्थित सेक्रेड हार्ट इङ्लिस स्कुलको २०औँ वार्षिकोत्सवको अवसरमा भण्डारीलाई सम्मान गरेको थियो । यस्तै मानव अधिकार तथा शान्ति समाजले नगदसहित सम्मान गरेको छ । अन्य विभिन्न निकायहरुबट पनि उहाँलाई सम्मानपत्र प्रदान गरेको थियो ।

भण्डारीका लागि सम्मानहरू केबल कागजमा लेखिएका शब्द मात्र होइनन् ती सबै उहाँप्रतिको समाजको भरोसा र माया हुन्, जसले उहाँलाई अझै अघि बढ्न प्रेरित गरिरहेको छ । भण्डारी भन्नुहुन्छ, ‘‘कर्म गर्नु मेरो कर्तव्य हो, फलको आशा गरेको छैन ।’’ ती सम्मानले झन जिम्मेवारीबोध गराएको छ, जहिलेसम्म सक्छु स्वास्थ्यले साथ दिएसम्म बालबालिकाहरुलाई पढाउने, सिकाउने कर्म गरिरहन्छु ।” उहाँका लागि यो निःशुल्क शिक्षा दिनु पेसा नभएर जीवनको उद्देश्य आत्मसन्तुष्टिको स्रोत बनेको छ । यही निस्वार्थ भावनाले उहाँलाई तीन दशकभन्दा बढी समयदेखि यही एउटै ठाउँमा उभ्याइरहेको छ ।

दुःख सुख तीन दशकभन्दा बढी समय यसरी नै बिताएँ म खुसी छु, पढ्न आउने बालबालिका पनि खुसी छन् । यही खुसीले उहाँलाई हरेक दिन फेरि पिपलको छहारीमुनि उभिन प्रेरित गरिरहेको छ । भण्डारी शैक्षिक र सामाजिक सचेतनाको संवाहकका रुपमा परिचित हुनुहुन्छ । उहाँले पढाउनु भएका विद्यार्थीहरू हाल कोही उच्च शिक्षा र रोजगारीको सिलसिलामा अमेरिका पुगेका छन् भने कोही नेपालमै विभिन्न पेसा व्यवसायमा संलग्न छन् । –रासस

Share This:
सम्बन्धित खबर
Loading...