- पार्वती भण्डारी
काठमाडौँ, १८ चैत । नेपालमा प्रत्येक वर्ष करिब १४ देखि १५ सय बालबालिका नयाँ किसिमको क्यान्सर रोगको पहिचान हुने गरेका छन् । धेरै बालबालिकाले समयमै उपचार पाउन सकिरहेका छैनन् ।
विशेषगरी आर्थिक रूपमा कमजोर वा विपन्न वर्गका परिवारहरूका लागि क्यान्सरको उपचार निकै महँगो हुने भएकाले, चाहेर पनि आफ्ना बालबालिकाको उपचार गराउन नसक्ने अवस्था देखिन्छ । यस कारणले गर्दा धेरै बालबालिकाहरू उपचारबाट वञ्चित भइरहेका छन् ।
क्यान्सर विशेषज्ञ डा.अन्जली पण्डितले सबैभन्दा बढी देखिने क्यान्सर भनेको ब्लड क्यान्सर अर्थात् ‘ल्युकेमिया’ रहेको बताउनुभयो । २ वर्षदेखि १० वर्ष उमेर समूहका बालबालिकामा यो रोग बढी देखिने उहाँले बताउनुभयो ।
नेपाल न्युज बैङ्कसँगको कुराकानीमा उहाँले बालबालिकामा पहिलो नम्बरमा ब्लड क्यान्सर, दोस्रो नम्बरमा ब्रेन ट्युमर र तेस्रो नम्बरमा ल्युकेमिया देखिन्छ । प्रत्येक क्यान्सरका प्रकारअनुसार लक्षणहरू फरक–फरक हुन्छन् । त्यसैले समयमै पहिचान गर्न अभिभावक सचेत हुन आवश्यक छ ।
ब्लड क्यान्सरका लक्षणहरू मुख्यतया शरीरमा बन्ने रगतका तत्त्वहरूमा कमी आउनु हो । हाम्रो शरीरमा सेतो रगत, रातो रगत र प्लेटलेट्स (पहेँलो रगत) महत्त्वपूर्ण हुन्छन् । जब यी तत्त्वहरूमा कमी आउँछ, तब बच्चामा कमजोरी, थकान, बारम्बार संक्रमण हुनु, छालामा नीलडाम देखिनु, रगत बग्नुजस्ता समस्या देखिनछन् । यस्ता लक्षणहरू देखिएमा तत्काल चिकित्सकको सल्लाह लिनु आवश्यक रहेको उहाँले बताउनुभयो ।
ब्रेन ट्युमरका लक्षण भने फरक किसिमका हुन्छन् । बच्चाले टाढाको वस्तु स्पष्ट देख्न नसक्नु, आँखामा धमिलोपन देखिनु, बिहान उठ्नेबित्तिकै वाकवाक लाग्नु वा बान्ता आउने जस्तो हुनु, हिँड्दा सन्तुलन बिग्रिनु, बारम्बार लड्नुजस्ता लक्षणहरू देखिन सक्छन् । पहिले राम्ररी हिँडिरहेको बच्चा अचानक असन्तुलित हुनु गम्भीर सङ्केत हुन सक्छ । यस्ता लक्षणलाई सामान्य ठानेर बेवास्ता गर्नु हुँदैन ।
त्यसैगरी, ल्युकेमियामा हुँदा शरीरका विभिन्न भागहरूमा गाँठागुठी देखिन्छ । कानको पछाडि, घाँटी, काखी वा अन्य भागहरूमा गाँठो देखिन्छ ।
सानो उमेरका बालबालिकामा आँखाको क्यान्सर पनि देखिन सक्छ । यस्तो अवस्थामा बच्चाको आँखामा सेतो दाग देखिनु, आँखा रातो हुनु, वरिपरि सुन्निनु, वा असामान्य चमक देखिनुजस्ता सङ्केतहरू देखा पर्न सक्छन् । साना बच्चाहरुले आफ्नो समस्या भन्न नसक्ने भएकाले अभिभावकले विशेष ध्यान दिनु जरुरी हुन्छ ।
डा.पण्डितका अनुसार कुनै पनि असामान्य लक्षण देखिनेबित्तिकै चिकित्सककहाँँ जानु अत्यन्तै आवश्यक छ । ब्लड क्यान्सर २ देखि १० वर्ष उमेरमा बढी देखिए पनि त्यसभन्दा माथिका उमेर समूहमा पनि देखिन्छ । १२, १४ वा १६ वर्षका किशोर–किशोरीहरूमा पनि क्यान्सर हुनसक्छ । त्यसैले १८ वर्षसम्मका बालबालिकामा क्यान्सरको सम्भावना रहन्छ ।
परम्परागत मान्यता अनुसार क्यान्सरहरू विशेष उमेर समूहमा मात्र हुने भनिए पनि अहिले व्यवहारमा फरक देखिएको छ । उदाहरणका लागि, हड्डीको क्यान्सर (जस्तै इविङ सार्कोमा) टिनएजमा बढी देखिने भनिए पनि अहिले साना बालबालिकामा देखिन्छ । क्यान्सर जुनसुकै उमेरमा हुने मान्छेमा हुन्छ ।
उहाँले भन्नुभयो, “अहिले बिज्ञानको प्रविधिको कारणले गर्दा हामीले पनि त्यहीँ विज्ञान प्रविधिको प्रयोग गर्ने भएकाले उपचार पद्धति धेरै अगाडि बढिसकेको छ । प्रविधिका कारण बालबालिकाहरु धेरै पीडाको महसुस गर्दैनन् ।”
नेपालमै उपचार गरेर १०० भन्दा बढी बालबालिकाहरू अहिले सामान्य जीवन बिताइरहेका छन् । तीमध्ये केही डाक्टर, इन्जिनियर बनेका छन् भने केही विदेशमा अध्ययन वा काम गर्न गएका छन् । अहिले नेपालमै पनि क्यान्सरको उपचार भएको डा.पण्डितले जानकारी दिनुभयो। उहाँले हरेक बालबालिकाको क्यान्सर फरक हुने भएकाले उपचार पनि फरक–फरक विधिबाट हुने बताउनुभयो ।
“हरेक बालबालिकाको क्यान्सर फरक हुन्छ । उपचारको विधि पनि फरक–फरक हुन्छ । एउटालाई काम गरेको औषधि अर्कोमा काम नगर्न सक्छ । त्यसैले तुलना गर्नु उपयुक्त हुँदैन । प्रारम्भिक अवस्थामा आएका बिरामी र ढिला अवस्थामा आएका बिरामीको उपचार पनि फरक हुन्छ,” उहाँले भन्नुभयो ।
केमोथेरापीबाहेक कतिपय अवस्थामा सर्जरी (शल्यक्रिया) र रेडियोथेरापी पनि आवश्यक पर्न सक्छ । अहिले उपचार नेपालमै उपलब्ध छन् । अहिले सबै क्यान्सरको उपचार एउटै छानामुनि उपलब्ध हुने भएकाले बिरामीलाई सजिलो भएको छ । बालबालिका आएपछि सर्जरी गर्न अन्यन्त्रै जानु भन्नु पर्दैन ।
उहाँले क्यान्सर शब्द सुन्नासाथ मानिसहरू डराउने गरेको बताउनुभयो । उहाँले भन्नुभयो, “क्यान्सर शब्द सुन्नासाथ मानिसहरू डराउने गर्दछन् । धेरैले यो निको नहुने रोग हो भन्ने सोच्छन् । उपचार गरे पनि सम्भव छैन भन्ने सोच्छन् । क्यान्सरको लक्षण देखिनेवित्तिकै यसको उपचार गराउन आयो भने ८० देखि ९० प्रतिशत क्यान्सर पीडित पूर्णरुपमा निको हुन्छन् ।”
उपचारका क्रममा संक्रमण (इन्फेक्सन) ठुलो जोखिम हुन्छ । यदि बच्चालाई भिडभाडमा लैजाने, सरसफाइमा ध्यान नदिने जस्ता गल्ती गरियो भने संक्रमणको खतरा बढ्छ । धेरैजसो अवस्थामा क्यान्सरभन्दा संक्रमणका कारण ज्यान जाने सम्भावना हुन्छ । त्यसैले घरमा पनि सावधानी अपनाउनु अत्यन्त जरुरी रहेको उहाँको भनाइ छ ।
बालबालिकामा के कारणले गर्दा क्यान्सर रोग लाग्छ भनेर यकिनका साथ भन्न सकिने अवस्था नरहेको उहाँले बताउनुभयो । जङ्कफुडकै कारणले गर्दा हो भन्ने तथ्याङ नरहेको उहाँले बताउनुभयो । तर, जङ्कफुड पनि कारण बन्नसक्ने डा.पण्डितको भनाइ छ । “खानपानमा ध्यान दिइएन भने स्वास्थ्यमा असर चाहिँ गर्छ । बाहिरको खाने कुरामा मात्र खुवाउँदा स्वास्थ्यमा असर गर्छ । अभिभावकले बालबालिकाको खानपान, वातावरण र जीवनशैलीमा ध्यान दिनुपर्छ,” उहाँले भन्नुभयो ।
यस्ता समस्याहरुबाट जोगिनका लागि खानपान, शारीरिक व्ययाममा ध्यान दिनुपर्ने उहाँको सुझाव छ ।
“हुनतः कहिलेकाहीँ ब्रेन ट्युमरजस्ता क्यान्सरमा जेनेटिक कारण पनि हुनसक्छ । यस्तो अवस्थामा परिवारका अन्य सदस्यको पनि जाँच गरिन्छ । अहिले जेनेटिक परीक्षण पनि उपलब्ध छ । ब्रेन ट्युमरको उपचारमा प्रायः पहिले सर्जरी गरिन्छ, त्यसपछि रेडियोथेरापी र केमोथेरापी गरिन्छ । अन्तिममा बालबालिकालाई किमो थेरापी गरिन्छ,” डा. पण्डितको भनाइ छ ।
यस्ता समस्याहरुको समाधानका लागि सरकारी अस्पतालमा उपलब्ध सेवा सुविधा रहेको र बर्सेनी १४ देखि १५ सय हाराहारीमा क्यान्सरको केसहरू देशभरि नै देखिने गरेको उहाँले बताउनुभयो ।
उहाँले भन्नुभयो, “बर्सेनी १४ देखि १५ सयको हाराहारीमा क्यान्सरको केसहरू नेपालभर देखिन्छ । हाल ४ देखि ५ सयजना मात्र उपचार पहुँचमा आइरहनुभएको छ । बाँकी बिरामी कहाँ गइरहेका छन् भन्ने देखिएको छैन । उहाँहरूलाई लक्षण देखिनेबित्तिकै अथवा शङ्का मात्रै लाग्यो भने उपचार गराउन सकिदैन भन्ने मानसिकतामा हुनुहुन्छ । उपचारबाट वञ्चित भएर बसिरहनु भएको छ ।”
त्यसैले बालबालिकाको क्यान्सर गम्भीर भए पनि निको हुन सक्ने रोग भएकाले सचेत हुन उहाँको सुझाव छ ।“क्यान्सर समयमै पहिचान, सही उपचार र उचित हेरचाह भएमा धेरै बालबालिकाहरू पूर्ण रूपमा स्वस्थ भएर सामान्य जीवन बिताउन सक्छन् । त्यसैले कुनै पनि असामान्य लक्षण देखिएमा ढिलाइ नगरी चिकित्सकको सल्लाह लिनु अत्यन्त आवश्यक छ,” उहाँको सुझाव छ । –नेपाल न्युज बैङ्क